काँग्रेस नेताको प्रश्न– के जरुरी पर्यो र अहिले मन्त्री, प्रधानमन्त्री फेर्ने ?

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री दीपक खड्काले तत्काल प्रधानमन्त्री वा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको तर्क अघि सारेका छन् ।

रिपोर्टर्स क्लबमा मंगलबार उनले भने, ‘अहिले झट्ट हेर्दा प्रधानमन्त्री परिवर्तन गर्ने हल्ला छ, मन्त्रीहरु पनि परिवर्तन गर्ने हल्ला छ । अहिले मन्त्रीहरु परिवर्तन गर्न आवश्यक छैन । यसले अस्थिरता निम्त्याउँछ ।’

खड्काले वर्तमान सरकारसँग पाँच वर्षको स्पष्ट म्याण्डेट भएकोले हेलचेक्रयाँई गर्न नहुने बताए । उनले भने, ‘यदि यो पाँच वर्ष हेलचेक्र्याँई गरियो भने मुलुक २५ वर्ष पछि पर्छ ।’ उनले थपे, ‘यही सरकारलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्छ ।’

नेता खड्काले अहिले मन्त्रीहरु किन परिवर्तन गर्नुपर्यो ? भन्दै प्रश्नसमेत गरे । उनले भने, ‘सरकार स्थायी छ, यो सरकारलाई हामीले आवश्यक सहयोग गर्नुपर्छ ।’ यद्यपी सरकारले प्राप्त गरेको म्याण्डेअनुसार काम गर्न नसकेको खड्काको आरोप छ ।

उनले मुलुकमा अहिले भ्रष्टाचार पनि व्याप्त रहेको सुनाए । खड्काले भने सरकारको दम्भको कारण संखुवासभामा हिजोमात्रै गोली चलेको घट्ना सुनाउँदै के मुलुकमा द्वन्द्व निम्त्याउन खोजेको हो त ? भनेर प्रश्न गरे ।

विकास खर्चको बारेमा पनि सरकार चुकिरहेको र असारमा मात्रै खर्च गर्ने प्रवृत्ति दोहोरिएको खड्काको आरोप छ । उनले भने, ‘अहिले सरकारले पिचमाथि पिच गरिरहेको छ । जहाँ पिच गर्नुपर्ने थियो, त्यहाँ गर्दैन तर पिच भएको ठाउँमा चाहीँ पिच गर्छ । पुतलीसडकमा पिच गर्छ, यो त हाम्रो बेथिति हो ।’

अहिले मुलुक बनाउने बेला भएकोले सरकारमा बसेकाहरु जिम्मेवार हुनुपर्छ भन्दै नेता खडकाले भने, ‘मुलुक बनाउने जिम्मेवार ओहोदामा बस्नेहरु झनै जिम्मेवार बन्नुपर्छ ।’ वर्तमान सरकार सफल हुन नसकेको भए पनि काम गर्नको लागि अझै समय रहेको उनको भनाई छ ।

खड्काले भने, ‘अहिलेको व्यवस्थालाई स्थिर बनाउनको लागि पनि यो सरकारलाई काम गर्न दिनुपर्छ । पाँच वर्ष प्रधानमन्त्री र मन्त्रीहरु हटाउनुहुँदैन् ।’ सरकारले विकास तथा समृद्धिको लागि सबै पक्षसँग छलफल तथा सहकार्य गर्नुपर्ने उनको भनाई छ । खड्काले वर्तमान सरकार धेरै ठाउँमा चुकेको पनि खड्काले आरोप लगाए ।

Advertisement

Advertisement

Advertisement