कर्मचारी भर्ना गर्दा परीक्षाको नजिता फेरबदल गरेको भन्दै त्रिवि शिक्षा आयोगका १० जनाविरुद्ध मुद्दा

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । परीक्षाको नतिजा फेरबदल गरेको आरोपमा सेवा आयोगका अध्यक्ष शर्मासहित १० विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अख्तियारका सहप्रवक्ता मदन कोइरालाका अनुसार सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा, सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी ईन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह–प्राध्यापक राजेश्वर न्यौपाने, सह–प्राध्यापक तारा प्रकाश पौडेल र रामबहादुर पाण्डे क्षत्रीविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुले पदीय मर्यादाअनुरुप पूरा गर्नुपर्ने दायित्व पुरा नगरी विभिन्न पदहरूको लिखित परीक्षाको परिणाममा फेरबदल गरे गराएको देखिन आएकाले उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ को कसूर अपराध हुँदा ऐनको दफा २४ बमोजिम थप सजायको समेत मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको २०७३ फागुन २८ गते प्रकाशित विज्ञापन नं. १८÷२०७३÷०७४ अन्तर्गत विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदहरूका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भएकोमा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ वटा पदहरूको लिखित परीक्षा सञ्चालनको क्रममा उत्तरपुस्तिका परीक्षणमा अनियमितता भएको अख्तियारको ठहर छ।

शाखा अधिकृत पदको लागि कूल पदसंख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये ६ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको अनुसन्धानका क्रममा भेटिएको अख्तियारले जनाएको छ।

Advertisement

Advertisement

Advertisement