नक्कली बैंक जमानत तयार पार्ने कृषि विकास बैंकका कर्मचारीसहित तीन पक्राउ

Advertisement

काठमाडौं । बैंकिङ कसुरमा कृषि विकास बैंकका कर्मचारीनै संलग्न रहेको फेला परेको छ । कृषि विकास बैंक रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याडसमेत अनाधिकृत रुपमा प्रयोग गरी ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरेर बैंकलाई हानीनोक्सानी पुर्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका कर्मचारीसहित तीन जनालाई पक्राउ गरेपछि उक्त तथ्य फेला परेको हो ।

पक्राउ पर्नेमा बैंकका कर्मचारी भक्तपुर बालकोटका छविलाल ढकाल, ठेकेदार कम्पनी एमएस–वाइपी जेभीका प्रतिनिधि धनकुटा, महालक्ष्मी नगरपालिका– ७ बस्ने रणधिर तुम्बा र बाजुरा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने देवजङ्ग शाही रहेको ब्यूरोले जनाएको छ ।

हाल निलम्बनमा रहेका कृषि विकास बैंकको रत्नपार्क शाखाका तत्कालीन शाखा अधिकृत ढकालले उनीहरुसँग मिलेर बैंकलाई नोक्सानी पुर्याउने उद्देश्यले तीन वर्षअघि रु एक करोड १० लाखको ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरी बैंकिङ अपराध गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको विषयमा अहिले पाटन उच्च अदालतबाट म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

उनीहरुले २०७३ साल असारमा साविक भोजपुर प्राविधिक कार्यालय र ठेकेदार कम्पनी एमएस–वाइपी जेभीका बबरमहल काठमाण्डौँबीच भोजपुर– टक्सारकोट–गोगने–लेखर्क सडक स्तरोन्नतिको लागि रु बाह्र करोड ५५ लाख ९७ हजारमा ठेक्का सम्झौता हुँदा नक्कली जमानत पेश गरेको खुल्न आएको छ ।

सो क्रममा बैंकका कर्मचारी ढकालले बैंकबाट ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार पारी उनीहरुलाई उपलब्ध गराएको पाइएको छ । उनीहरुले सविक प्राविधिक कार्यालय भोजपुरबाट दुई किस्तामा रु एक करोड १० लाख झुक्तानी लिई सकेकोसमेत खुल्न आएको प्रहरी उपरीक्षक रेगमीले जानकारी दिए । हाल उक्त सडकको ठेक्का स्थगित भएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement