वडाध्यक्ष शेर्पाले भने– सरकारले दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्छु

Advertisement

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले उनलाई दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताएका छन् ।

जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले बताए । भर्खरै सम्पन्न गाउँसभामार्फत आफूले पाउने सेवासुविधा आफैंले उपभोग नगरी सामाजिक काममा खर्च गर्ने घोषणा गरेको भन्दै उनले अब बाँकी कार्यकालको सेवा सुविधा नलिने बताएका हुन्।

दैनिक भ्रमणभत्ता लिँदै नलिई गाउँको विकासमा खर्च गर्ने र पारिश्रमिकबापत पाएको रकमले आफ्नो गाउँपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई न्यानो कपडा खरिद गरी वितरण गर्ने उनको भनाइ छ । “गाउँसभा चल्दै थियो, सबै जनप्रतिनिधिले सेवा सुविधा कम भयो भनेर गुनासो गरिरहेका थिए, तर मलाई चित्त दुखिरहेको थियो कि जनताले केही गरोस् भनेर जिताएर पठाएका हामीले नै सेवा सुविधा पुगेन भन्दै उनीहरुकै टाउकोमा ऋणको भार थपिरहेका छौँ भनेर, त्यहिबेला सेवा सुविधा नलिने भनेर निधो गरेको हूँ”, वडाध्यक्ष शेर्पाले भने ।

यसरी, सामान्य सेवा सुविधा उपभोग गर्नु उचित भए पनि जनताको सेवा गर्न चुनिएको जनप्रतिनिधिले तिनै जनता र राज्यलाई नै ऋणको भार थपिने गरी सुविधा उपभोग गर्नु आफ्ना लागि उचित नभएको उनको भनाइ छ ।

यस्तै मासिक रूपमा पाउने पारिश्रमिकबापतको रकमले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्नुका साथै आफ्नो वडाभित्रका विभिन्न शैक्षिक संस्थाका कार्यालय सहयोगीको तलब भत्तामा थप गरी दिने तयारी गरेको शेर्पाले बताएका छन् । आफू जनप्रतिनिधि भएर आएपछि दैनिक भ्रमणभत्ताबापत करिब रु १५ हजार र पारिश्रमिकबापत रु १९ हजार पाउँदै आएको शेर्पाको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement