‘इन्जिनियर दिवस’मा अवार्ड वितरणसहित विभिन्न कार्यक्रम गर्दैछौंः बज्राचार्य

Advertisement

काठमाडौं । नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एशोसिएसनले ५६ वर्ष पूरा गरी ५७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको घोषणा गरिएको छ ।

एशोसिएसनले हरेक वर्ष साउन ३ गतेलाई ‘इन्जिनियर दिवस’को रुपमा मनाउँदै आएको छ । यो वर्ष प्रधानमन्त्री केपी ओलीले दिवसको विशेष उद्घाटन गर्ने कार्यक्रम रहेको एशोसिएनले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

एशोसिएसनका अध्यक्ष प्राडा त्रिरत्न बज्राचार्यले अहिलेको विश्वासको लागि ज्ञान नै ठूलो पूँजी भएको भन्दै चीन, सिंगापुरजस्ता विकसित राष्ट्रमा इन्जिनियरहरुले देश हाँकेको सुनाए । उनले यो वर्षको इन्जिनियर दिवसका अवसरमा आयोजित विभिन्न सत्रहरुबाट आएका सुझावहरुलाई एकीकृत गरेर सरकारलाई बुझाउने पनि बताए ।

आफूहरुले पनि ‘ज्ञान नै शक्ति र श्रम नै भक्ति’ हो भन्ने मूल नारा आत्मासत गरेर अघि बढ्दै आएको बज्राचार्यले बताए । उनले भने, ‘अहिले हामी ५२ हजार इन्जिनियरहरु रजिस्टर छौं । अहिले विभिन्न ४२ विधा छन् । हाम्रो मुल लक्ष्य भनेको नै सबै इन्जिनियरहरुलाई एक बनाउने हो ।’

उनले एशोसिएसनले अहिले गुणस्तरीय इन्जिनियरिङ सेवा र शिक्षालाई एकसाथ अघि बढाएको पनि विश्वास दिलाए । त्यस्तै, यो पेशा नै जोखिमयुक्त पेशा भएकोले आफूहरुले इन्जिनियहरुको सामूहिक दुर्घटनाको माग गरेको पनि उनले स्पष्ट पारे ।

इन्जिनियर दिवस समारोहमा मुलुकको समग्र पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका इन्जिनियरहरुको योगदानलाई समाजमा उजागर गर्ने उद्देश्यका साथ यस वर्ष एशोसिएसनले आगामी २०७६ साउन ३ र ४ गते दुई दिनसम्म भव्यताका साथ मनाउनका लागि काठमाडौंभित्र र बाहिर प्रदेश राजधानीस्थित् एशोसिएसनका प्रादेशिक कार्यालयहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमासमेत विविध कार्यक्रमहरुको तय गरि मनाउन लागिएको पनि एशोसिएसनले स्पष्ट पारेको छ ।

त्यस्तै, उक्त अवसरमा इन्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्¥याउने इन्जिनियर–आर्किटेक्ट तथा संस्थालाई ६ ओटा विधामा सम्मान गरिने कार्यक्रम रहेको पनि एशोसिएसनका महासचिव छविराज पोख्रेलले जानकारी दिए ।

उनकाअनुसार लाईफ टाईम अचिभमेन्ट अवार्ड (५ जना सदस्यहरुले संयुक्त सिफारिस गरी पठाउनुपर्ने), डिस्टिङ्ग्युस्ड इन्टरप्रेनरसिप अवार्ड, मार्टी नवराज विष्ट मेमोरियल अवार्ड, आउटस्ट्याण्डिङ युथ प्रोफेश्नल अवार्ड, आउटस्ट्याण्डिङ वुमन इन्जिनियर अवार्ड र इन्जिनियर्स अप्रिसियसशन अवार्ड प्रदान गरिने कार्यक्रम रहेको छ ।

विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकारसम्पन्न बनाउनु सरकारको कर्तव्य भएको एशोसिएनको ठम्याई छ । एशोसियशनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही यथार्थलाई आत्मसात गर्र्दै हामीले यस वर्ष “५७ औं इन्जिनियर दिवस” को मूल नारा “समृद्ध नेपाल निर्माणका लागि इन्जिनियरिङ सेवा” तय गरेका छौ ।’

समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न इन्जिनियरहरुको सशक्तिकरण हुनुपर्ने विषयलाई आफूहरुले विगतदेखि नै महत्वका साथ उठाउँदै आएको पनि महासचिव पोख्रेलले जनाए ।

विज्ञप्तिमा थप भनिएको छ, ‘यस “५७ औं इन्जिनियर दिवस” को अवसरमा साउन ३ गतेका दिन पूर्वाधार विकासको क्रममा पेशागत इन्जिनियरहरुले भोग्दै आएका समस्या र चुनौती लगायतका विषयमा गहन बहस हुनुको साथै मूल नारामा केन्द्रित भई गरिने सेमिनारमा नेपाल सरकारका सम्वन्धित मन्त्रालयका मन्त्रीहरु लगायत विभिन्न राजनैतिक दलबाट संसदमा प्रतिनिधित्व गर्ने युवा नेतृत्वहरुलाई आमन्त्रण गरी इन्जिनियरिङ र पूर्वाधार विकासको क्षेत्रमा देखिएका समस्या, भईरहेका प्रगतिहरु र अब अबलम्बन गर्नुपर्ने नीतिका सन्दर्भमा इन्जिनियर समुदायको तर्फबाट पेश गरिने प्रस्तुतिमाथि विस्तृत छलफल चलाई निष्कर्ष निकालिने छ । विभिन्न प्राविधिक सत्रको विशेष महत्व रहने छ ।’

त्यसैगरी साउन ४ गतेका दिन नेपालको उर्जा, सिंचाइ तथा खानेपानी, यातायात पूर्वाधार, संघीयता कार्यान्वयन, सुशासन र सूचना प्रविधिका सम्बन्धमा ३ वटा प्राविधिक सत्रको आयोजना गर्न लागिएको पनि जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement