मन्त्री यादवले भने- मलाई तीन जना सचिवले डुबाए, त्यसैले विषादी परीक्षण रोकियो

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन् । मन्त्री यादवले सोमबार अपरान्ह पत्रकार सम्मेलन गर्दै सचिवहरुको भर पर्दा आफू विषादी परीक्षण नगर्ने निर्णयका कारण डुबेको पनि बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका तीन जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू डुबेको मन्त्री यादवको दावी छ ।

यद्दपि मन्त्री यादवले उक्त निर्णयको जिम्मेवारी भने आफूले लिने पनि स्पष्ट पारे। उनले आफूलाई गुमराहमा राख्ने सचिवहरुलाई ठिक ठाउँमा बस्न पनि सचेत गराए ।

मन्त्री यादवले सरकारलाई विवादमा ल्याउने काम सचिवहरुले गर्न नहुने पनि बताए। आफूले ती विषयमा अध्ययन नगरी निर्णय लिएर गल्ती गरेको पनि मन्त्री यादवले स्वीकार गरे । आफूले हरेक निर्णय राष्ट्रको हितमा गरेको बताउँदै विषादी परीक्षण नगर्ने निर्णय कसैको दबावमा परेर नगरेको पनि पटक पटक दोहोर्‍याए ।

पत्रकार सम्मेलनमा बोल्दै उद्योग सचिव यामकुमारी खतिवडाले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवका कारण उक्त निर्णयमा गल्ती हुन पुगेको स्पष्टीकरण दिए ।

सरकारले परीक्षणका लागि पूर्वाधार नभएको भन्दै आयातित तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भैरहेको छ ।

Advertisement

Advertisement

Advertisement