चीनको वैदेशिक व्यापारमा ३.९ प्रतिशतको वृद्धि

Advertisement

बेइजिङ । चालू वर्षमा कूल १४६ खर्ब ७० अर्ब युआन चीनको वैदेशिक व्यापार भएको चिनियाँ भन्सार विभाग (व्यूरो) ले जनाएको छ । विभागले शुक्रबार यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

गत वर्षको सोही अवधिको तुलनामा यो ३.९ प्रतिशतको वृद्धि हो । विश्व व्यापारमा पछिल्लो समय संरक्षणवाद चर्केर गएको र विश्वमा आर्थिक वृद्धि पनि मन्द भएको दवाव चिनियाँ अर्थतन्त्रमा समेत परिरहेका समय चीनले यति राम्रो वैदेशिक व्यापार उपलब्धि हासिल गर्नु सजिलो काम नभएको भन्सार विभागले जनाएको छ ।

यसबाट चीनको वैदेशिक व्यापारमा व्यापक लचिलोपना भएको र चीनको आर्थिक वृद्धि स्थिर तथा दीर्घकालीन रूपमा राम्रो दिशातिर जाने प्रवृत्तिको परिवर्तन नहुने देखिएको चीनको निष्कर्ष रहेको छ । चालू वर्षको पूर्वार्धमा चीनको वैदेशिक व्यापार समष्टिगत रूपमा स्थिरतासाथ अघि बढ्दै गइरहेको पनि बताइएको छ ।

वैदेशिक व्यापार वृद्धिको जीवन्त शक्ति रहिरहेको साथै गैर–सरकारी उद्यमको आयात निर्यात वृद्धि दर ११ प्रतिशत भएको र चीनको वैदेशिक व्यापार वृद्धिको मुख्य शक्ति बनेको चीनको ठहर छ । चीनको मध्य तथा पश्चिमी भागको आयात निर्यात वृद्धि दर समस्त चीनको भन्दा उच्च भएको बताइएको छ ।

त्यस्तै व्यापार साझेदारीमा विविधिकरण देखिएको बताउँदै विभागले चालू वर्षको पूर्वाद्र्धमा चीनबाट अमेरिकालाई गरिने निर्यात नौ प्रतिशतले घटेको भएपनि यूरोपेली संघ, आशियान तथा जापान आदि मुख्य व्यापार साझेदारसँगको निर्यात आयातमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ । चीनको यूरोपेली संघसँगको कारोबारमा ११.२ प्रतिशतले वृद्धि भएको, आशियान मुलुकसँगको कारोबार मा १०.५ प्रतिशतको वृद्धि भएको र जापानसँग १.७ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।

चीनको विशेष गरी बीआरआई सम्बद्ध मुलुकसँगको कारोबार वृद्धि दर ९.७ प्रतिशत भएको र वैदेशिक व्यापारको कूल रकमध्ये यो २८.९ प्रतिशत रहेको बताइएको छ । चीनको निर्यातजन्य उत्पादित वस्तुको बनौट अझ अनूकुल भएको पनि विभागले जनाएको छ ।

समग्रमा विश्व व्यापारमा समस्या देखिएको भन्दै कतिपय मुलुकले संरक्षणवादी नीतिलाई रणनीतिक रूपमा अघिसारेका वेला चीनको वैदेशिक व्यापारको विकासमा सुधार देखिनु सकारात्मक भएको चीनको निष्कर्ष छ ।

Advertisement

Advertisement

Advertisement