वेष्टर्नलाई प्राप्ति गरी आजबाट देवः विकास बैंक सबैभन्दा ठूलो विकास बैंक बन्दै

Advertisement

काठमाडौं । देवः विकास बैंकले दाङ, कपिलवस्तु र बाँकेमा कार्य क्षेत्र रहेको वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी आजदेखि एकीकृत बैकिङ कारोबार शुरु गर्दैछ । दुवै बैंकको गत असार १२ गते बसेको वार्षिक साधारणसभाबाट १ः१ को स्वाप रेसियोमा प्राप्ति प्रक्रियालाई सर्वसम्मतरुपमा पारित गरेका हुन् ।

बैंकको एकीकृत कारोवारको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले गर्न कार्यक्रम छ । वेष्टर्नलाई प्राप्ति गरेपछि देवः विकास बैंकको चुक्ता पुँजी तीन अर्ब १८ करोड पुग्नेछ जुन विकास बैंकहरुमध्येमा सबैभन्दा बढी चुक्ता पूँजी हो । त्यस्तै, बैंकको निक्षेप रकम २२ अर्ब ९२ करोड र कर्जा २० अर्ब ४३ करोड रुपियाँ पुग्नेछ भने ७७ वटा शाखा सञ्जाल रहनेछ ।

एनडिइपी डेभलपमेन्ट बैंकले चितवन, नवलपरासी र रुपन्देही कार्य क्षेत्र रहेको राइजिङ डेभलपमेन्ट बैंकसँग मर्जर गरेपछि देवः विकास बैंकको नामबाट २०७२ असार २५ गतेबाट एकीकृत कारोवार शुरु गरेको थियो । त्यसपछि बैंकले राष्ट्रियस्तरको युनियन फाइनान्स र कैलाली, कञ्चनपुर र डोटीमा कार्य क्षेत्र रहेको साझा विकास बैंकलाई प्राप्ति गरी २०७४ कार्तिक २३ गतेदेखि एकीकृत कारोवार गरेको थियो ।

वेष्टर्नको प्राप्तिपछि बैंकको संचालक समितिमा देवः विकास बैंककै साविक संचालक समिति बज्र गुरुङको अध्यक्षतामा रहनेछ भने प्रमुख कार्यकारी अधिकृतमा देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ रहनेछन् ।

Advertisement

Advertisement

Advertisement