नेताहरुको प्रश्न– राष्ट्रिय विपत्तिमा पनि संसद नचलाउने कस्ता सभामुख हुन् ?

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले राष्ट्रिय विपतिको बेलामा संसद स्थगित् गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको आलोचना गरेका छन् ।

संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएलगत्तै बाढि, पहिरो प्रभावित जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लबमा उनीहरुको आलोचना गरेका हुन् । वक्ताहरुले जनताको कुरा सार्वभौम संसदमा राख्न नदिएको भन्दै कांग्रेस र सभामुखको विरोध गरे । जनताको मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु खेदजनक भएको उनीहरुको टिप्पणी छ । साँसदहरुले संसद स्थगित् गरेकोमा आक्रोश पोख्दै त्यसको भत्सर्ना पनि गरे ।

खोटाङबाट निर्वाचित नेकपाका सांसद विशाल भट्टराईले आफूहरुले जनताको दुःखको कुरा सार्वभौम संसदमा सुनाउन नपाएको गुनासो पोखे । उनले भने, ‘अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । सवारी आवातजावत अवरुद्ध छन् । जनताको आवासमा ठूलो क्षति पुगेको छ । तर, यस्तो प्राकृकित विपतिको बेलामा पनि संसद स्थगित् गरियो । हामी चाहन्थ्यौं संसदले यो संकटको निवारण गरोस भनेर । तर, कांग्रेसले विगतको घट्नाक्रमलाई हेरेर हठ देखायो । आयोग गठनको माग गरेर संसद अवरुद्ध गर्नु गलत हो ।’

भट्टराईले सभामुख महाराको भूमिकाप्रति पनि आपत्ति जनाए । उनले भने, ‘सभामुखज्यूले संसद बैठक स्थगित गर्नुभयो । यसमा हाम्रो घोर आपत्ति छ । यो खेदजन्य कुरा हो । यथाशिघ्र बैठक बोलाउनुपर्छ । संसदलाई बन्धक बनाउनुहुँदैन् ।’ भट्टराईले सबै दलहरुबीच सहमति र एकता कायम गरेर संसद सुचारु गर्नुपर्नेमा जोड दिए । उनले खोटाङमा तीन जनाको निधन भएको र एक जना घाईते भएको सुनाए । बाढि, पहिरोका कारण खोटाङमा एक किलोमिटर पनि आवातजावात हुन नसकेको भट्टराईले सुनाए ।

रौतहटबाट निर्वाचित नेकपाकी सांसद कल्याणी खड्काले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस्तो प्राकृतिक विपतिको घडीमा पनि संवेदनशीलता नदेखाएको आरोप लगाईन् ।

उनले रौतहट पूरै डुवानमा परेको सुनाईन् । ‘यस्तो अवस्थामा देश राजनीतिक एजेण्डामा अल्झिनुहुँदैन थियो’–खड्काले भनिन् ‘अहिले त उद्धार तथा राहतमा जुट्नुपर्ने बेला हो । तर, हामीले संसदमा आफ्नो कुरा राख्न पाएनौं ।’ उनले बाढि पहिरोमा परि बेपत्ता भएकाहरुको तदारुकताका साथ खोजि हुनुपर्ने बताईन् ।

अहिले पनि पीडितहरुमा खानादेखि स्वास्थ्यको गम्भिर समस्या रहेको सुनाउँदै खड्काले त्यसतर्फ सरकारले पर्याप्त ध्यान दिनुपर्ने सुझाईन् । पीडितहरुको उद्धार, राहत तथा पूननिर्माणमा जुट्नको लागि पनि उनले सबैलाई आग्रह गरिन् ।

ओखलढुंगाबाट निर्वाचित नेकपाका सांसद यज्ञराज सुनुवारले संसद बैठक अवरुद्ध गरेकोमा गम्भिर आपत्ति जनाए । उनले भने, ‘बैठक सुरु नै नभईकन अचानक स्थगित गरियो ।’ राष्ट्रिय विपतिको बेलामा संसद बैठक बसेर आफ्ना कुरा राखौंला भन्ने चाहना पुरा नभएकोमा उनले कडा आक्रोश पोखे । सुनुवारले भने, ‘संसदको नियमित बैठक बस्ला र आफ्ना कुरा राखौंला भनेको त बैठक स्थगित गरियो । यसमा हाम्रो गम्भिर आपत्ति छ । कांग्रेसले जुन रवैया देखायो, यो गलत छ ।’

कांग्रेसले राजनीतिक दाउपेचलाई केन्द्रमा राखेर संसद बैठक स्थगित गरेको भन्दै सुनुवारले गम्भिर आपत्ति जनाए । उनले भने, ‘म कांग्रेसको यो रवैयाको घोर आपत्ति जनाउँछु ।’ आफू ७२ घण्टा लगाएर संसद बैठकमा जनताका दुःखका कुरा राख्छु भनेर ज्यान दाउमा लगाएर आएको सुनाउँदै सुनुवारले भने, ‘तर, बैठक स्थगित गरियो । यसमा म सभामुखलगायत प्रतिनिधिसभाको नेतृत्व गर्नेहरुको आलोचना गर्छु ।’

उनले उद्धार तथा राहतको लागि सरकारको काम अझै प्रभावकारी हुनुपर्ने बताए । सुनुवारले भने, ‘अहिलेपनि काममा ढिलासुस्ती भैरहेको छ । अहिले त संसदमा यो विषयमा गम्भिर बहस हुनुपर्ने थियो । तर, बैठक बस्नै नदिई स्थगित् गरियो । यो षडयन्त्र हो ।’

अहिले पनि बाढि, पहिरोका कारण राजमार्ग तथा बाटाघाटाहरु अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परिरहेको सुनाउँदै उनीहरुको तत्काल उद्धार गर्न सरकारले आफ्नो संयन्त्र परिचालन गर्नुपर्ने उनको भनाई छ । सुनुवारले २०७४ असोज ९ गते पारित भएको विपत जोखिम तथा न्यूनिकरण व्यवस्थापनसम्बन्धी विद्येयकअनुसार अहिलेसम्म प्राधिकरण गठन नभएकोमा गुनासो पोखे ।

उदयपुरबाट निर्वाचित नेकपाका सांसद सुरेश राईले पनि राष्ट्रिय विपतिको यस्तो घडीमा संसद बैठक स्थगित् हुनु दुःखदायी र खेदजनक भएको टिप्पणी गरे । उनले भने, ‘अहिले पनि पीडितहरुको अवस्था दयनीय छ । तर, कांग्रेसले संसद अवरुद्ध गरेर गलत चरित्र देखायो ।’ यस्तो बेलामा संसद बैठक बसेर अझै सरकारको भूमिका प्रभावकारी बनाउनको लागि छलफल तथा बहस हुनुपर्ने थियो भन्ने उनको भनाई छ ।

सिरहाबाट निर्वाचित नेकपाका सांसद लिलानाथ श्रेष्ठले मुलुक अहिले राष्ट्रिय विपतिको अवस्थामा भएकोले यस्तो बेलामा सबै दलहरु एकजुट भएर उद्धार तथा राहतमा जुट्नुपर्ने बताए । उनले भने, ‘आज संसद चल्छ र आफ्नो कुरा राखौंला भनेको त एक्कासी सदन स्थगित् भयो । यो दुःखद् कुरा हो ।’

श्रेष्ठले सिरहाको हकमा कमला नदीको बाँध फुटेर ठूलो क्षति पुगेको सुनाए । अहिले पाँच हजार घरपरिवार आंशिक रुपमा प्रभावित बनेको र पाँच सय घर पूर्ण क्षति भएको उनले सुनाए । उनले भने, ‘सिरहामा दलितहरुको ठूलो बस्ती छ । उनीहरुको फुसको घर छ । सबै डुवानमा परे । अहिले राहत पुर्याउनसमेत ठूलो समस्या छ ।’

Advertisement

Advertisement

Advertisement