अमेरिकासँगको व्यापारिक युद्धको असरः चीनको आर्थिक वृद्धि दर २७ वर्षकै कम

Advertisement

चीन । चिनियाँ आर्थिक वृद्धि करिब तीन दशककै सबैभन्दा कम स्तरमा पुगेको छ । यसरी अमेरिकासँगको व्यापारिक युद्ध लामो समयसम्म जारी रहनुले नै विश्वको दोस्रो ठूलो अर्थतन्त्र, चीनको आर्थिक वृद्धिमा गम्भीर असर पारिरहेको बताइएको छ ।

देशको कुल घरेलु उत्पादन जुन महिनाको अन्त्यमा ६.२ प्रतिशतले वृद्धि भएको थियो जुन १९९२ पछिकै सबैभन्दा कम भएको सोमबार चिनियाँ सरकारले सार्वजानिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । चीनको राष्ट्रिय तथ्याङ्क विभागका अनुसार चिनियाँ अर्थतन्त्रले दोस्रो हाफसम्म यस्तै किसिमले गिर्दो वृद्धि दरको दबाब सहिरहनुपर्ने हुन्छ । विभागले एउटा बयानमा भनेको छ, ‘विश्वव्यापी वृद्धि कम भइरहेको छ र बाहिरी अनिश्चितता बढिरहेको छ । त्यसैले चिनियाँ अर्थतन्त्र अत्यन्तै गम्भीर र जटिल अवस्थामा छ । ’

बेइजिङ र वासिङटनले केही समय अगाडि मात्र व्यापारिक युद्धलाई अस्थायी रुपमा स्थगित गर्नेमा सहमति जनाएका हुन् र यसको समाधान गर्न वार्ताका लागि तयार भएका छन् । तर विश्लेषकहरुले भने दुवै पक्ष पछिल्ला महिनाहरुमा जारी गरिएको आयात कर हटाउन सक्ने सम्झौता सम्म पुग्नेबारे शंका व्यक्त गरिरहेका छन् । यसैकारण व्यवसायीहरु दुवै देशबीच विस्तृत सम्झौता हुने र फेरि व्यापार युद्ध सुरु नहुनेप्रति अनिश्चित छन् ।

यो वर्षको पहिलो ६ महिनामा चीनको आयात र निर्यात दुवैमा गिरावट आएको हुँदा व्यापारिक युद्धले घरेलु माग कमजोर बनाइदिएको छ , जसको भयानक परिणाम चिनियाँ अर्थतन्त्रले भोग्नु परिरहेको बताइएको छ । यसरी चीनको निर्यात १.३ प्रतिशतले कम भएको हो भने आयात पनि ७.३ प्रतिशतले कम भएको छ । विशेषगरी अमेरिका निर्यात गरिने वस्तुको दरमा ठूलो कमी आएको बताइएको छ ।

यसरी चीन र अमेरिकाबीच जारी आर्थिक विवादले विश्वका केही ठूला व्यवसायहरुमा नकारात्मक असर पारिसकेको छ । जस्तै की एप्पल कम्पनीको कुल आम्दानीको १८ प्रतिशत चीनबाट हुने गरेको थियो तर व्यापार युद्धका कारण चीनमा एप्पलको व्यापारमा ठूलो गिरावट आएको छ । त्यसैगरी अटो ब्रान्डहरु पनि प्रभावित भइरहेका छन् जसकारण २०१८ मा पहिलोपटक विश्वको सर्वाधिक ठूलो कार बाजारको वृद्धि दरमा कमी आएको हो । अर्कोतर्फ अमेरिकीहरुले चिनियाँ वस्तुहरु छाडेर भियतनाम, ताइवान, बांग्लादेश र दक्षिण कोरियाका आपूर्तिकर्ताबाट आउने उपभोग्य वस्तुहरु बढी खरिद गरिरहेका छन् जसले पनि चिनियाँ अर्थतन्त्रलाई बेफाइदा गराइरहेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement