सदनमा पहिलो पटक कांग्रेस र नेकपाको संयुक्त प्रस्तावमाथि छलफल

Advertisement

काठमाडौं । संघीय संसद्को माथिल्लो सदनमा पहिलो पटक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसले संयुक्त प्रस्ताव पेश गरेका छन् ।

सदनमा रहेका साना दलको समेत समर्थनमा नेकपा र कांग्रेसले बाढी तथा डुबानको संकट समाधानका लागि राष्ट्रिय सभाको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका हुन् । शुक्रवार बसेको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्दै नेकपाका खिमलाल भट्टराईले सत्तापक्ष र सत्तापक्ष नभनी सिंगो सदन एक भएर लागेको बताए ।

‘राष्ट्रिय सभाले एउटा संस्कार, मूल्य र मान्यतलाई नयाँ रूपमा स्थापित गरेको छ,’ भट्टराईले भने, ‘आज हामीले नयाँ उदाहरण पेश गरेका छौं । राष्ट्रिय मुद्दामा एकताबद्ध भएर राष्ट्रिय संकटको मुद्दालाई उठाउन खोजेका छौं । एक भएर यो संकट समाधान गर्न लागिपरेका छौं ।’

जरुरी सार्वजनिक महत्त्वको प्रस्तावका प्रस्ताव नेपाली कांग्रेसका बद्री पाण्डेले राष्ट्रिय संकटलाई राजनीतिक हतियार नबनाऔं भनेर साझा प्रस्ताव दर्ता गरेको बताए । तीन दिनअघि राधेश्याम अधिकारी प्रस्तावक रहेको प्रस्तावलाई नै साझा प्रस्ताव बनाउन आग्रह गरेको थियौं,’ उनले भने, ‘संकटलाई राजनीतिक हतियार नबनाऔं भनेर सामूहिक प्रस्ताव दर्ता गरेका हुन् ।’

यसअघि प्रतिनिधि सभामा नेपाली कांग्रेस र राजपाले दर्ता गरेको प्रस्तावमाथि छलफल हुन सकेको थिएन । राष्ट्रिय सभामा नेकपाका खिमलाल भट्टराई, कांग्रेसका बद्री पाण्डे र राजपाका वृषेशचन्द्र लालले प्रस्ताव दर्ता गराएका थिए । जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफल सकिएपछि गृहमन्त्री रामबहादुर थापा बादलले सदनमा जवाफ दिने तयारी छ । जवाफ सकिएपछि राष्ट्रिय सभाका अध्यक्षले राहत, उद्धार र पुनस्र्थापनाका लागि सरकारलाई निर्देशन दिने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

यसैबीच सदस्यहरूले एक दिनको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा पठाउने भएका छन् । । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सहितको संसदीय टोली भोलि नै बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जाने भएको छ ।

Advertisement

Advertisement

Advertisement