लगानीकर्ता भन्छन्ः सेयर बजारमाथी बलात्कार भयो, अब चुप लागेर बस्दैनौं

Advertisement

काठमाडौं । धितोपत्रको भारित मूल्य निर्धारण सम्बन्धी सिडिएसको पत्रले सेयर बजारमाथी बलात्कार गरेको भन्दै सेयर बजारका लगानीकर्ताले चुप लागेर नबस्ने चेतावनी दिएका छन् । उनीहरुले आइतबार सेयर कारोबार गर्ने वा नगर्ने ? भन्नेबारे समेत छलफल आरम्भ गरेका छन् । ‘हामी कारोबारै रोक्ने योजनामा त छैनौं तर अब चुप लागेर बस्ने अवस्था भने छैन’, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने ।

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले पनि अब सहेर बस्न नसक्ने स्पष्ट पारे । ‘एक पटक होइन, पटक पटक हामीलाई धोका दिईएको छ, सेयर बजारको वृद्धि र विकासमा खेलबाड गरिएको छ, अब चुप लागेर बस्दैनौं’, संघका अध्यक्ष अर्यालले भने ।

फोरम र संघका पदाधिकारीहरुले शुक्रबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की लगायतसँग भेटेर आफ्ना गुनासो सुनाएका थिए । बोर्डका अध्यक्ष कार्कीले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् । यद्यपी आइतबारको कारोबार कुन आधारमा गर्ने भन्नेबार अन्यौल कायमै रहेको छ ।

छोटेलाल रौनियार, अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम
हामी सिडिएसको पत्रपछि अचम्ममा परेका छौं । ब्रोकरले बोलाएर प्रमाण पेश गर्न उर्दि नै जारी गरेका छन् । त्यसपछि हामी शुक्रबार नेपाल धितोपत्र बोर्डमा गयौं । बोर्डका अध्यक्ष कार्कीसहितको सिंगो टिम सिडिएसको पत्रपछि अचम्ममा परेको रहेछ । सिडिएसको प्रणालीमा हाम्रो कारोबारको तथ्यांक शुन्य रहेछ । यस अघि नै सर्वपक्षिय छलफलबाट २०७२ साललाई ‘कट अफ मिति’ बनाईसकिएको थियो ।

अर्थमन्त्रालयका सहसचिव उत्तर खत्री नेतृत्वको टिमले लामो छलफलपछि निकालेको निचोडमा सहमति भएको हो । त्यसमा भारित मूल्य निकालेर मूल्य समायोजन गर्ने सहमति भएको थियो । तर एक्कासी नयाँ खेल सुरु भयो । अहिले सेयर बजारका लगानीकर्ताको उकासिँदो मनोबललाई फेरी गिराउने काम भएको छ । सेयर बजारको नदि उत्तर फर्काउन खोजियो । सिडिएसले असार ३१ गते विज्ञप्ति निकाल्यो ।

ब्रोकरले मूल्य प्रमाणित नगरे एक सय रुपैंयाँ मानेर कर लगाउने भनिदिए । यो त सेयर बजारमाथीको बलात्कार हो । सेयर बजारमा बलात्कार गर्ने प्रयास भयो । यो सेयर बजारलाई डुबाउने, सरकारलाई असफल बनाउने कर्मचारीतन्त्रको खेल हो । हामी सेयर बजारमाथी भैरहेको बलात्कारलाई टुलुटुलु हेरेर बस्न सक्दैनौं । २ तिहाईको सरकारले गरेको निर्णय नटेर्ने कर्मचारी को हुन् ? अब पहिचान हुनुपर्छ । सिडिएसका प्रमुख देव प्रकाश गुप्ताले सेयर बजारलाई कहाँ लैजान चाहेको हो ? कागजरहित जमानामा गई सकेको बजारलाई फेरी कागजी युगमा फर्काउने काम किन गरेको हो ? उनले सेयर बजारलाई फेरी डुबाउन खोजेको हो ?

उत्तम अर्याल, अध्यक्ष, सेयर लगानीकर्ता संघ
साथीहरुले आइतबारदेखि सेयर कारोबार रोक्नुपर्छ भनिरहनु भएको छ । हामी चाँही संयमित हुनुपर्छ भनिरहेका छौं । अहिले जुन हर्कत गरिएको छ, त्यो सच्चिएन भने हामीले चाहेर मात्रै कारोबार बन्द गर्ने साथीहरुको अडानलाई रोक्न सक्ने अवस्था छैन् । यस्तै अवस्था रहे कारोबार रोकिन्छ ।

अहिले जे जे भैरहेको छ, त्यो सबै अर्थमन्त्रीलाई असफल बनाउने खेल हो । त्यसमा मन्त्रालयकै केहि मान्छे लागेका छन् । मन्त्री वा सरकारलाई फेल गराउने नामममा लाखौं लगानीकर्ता र खर्बाैको सेयर बजारमाथी खेलबाड भैरहेको छ । लगानीकर्तामा उत्साह थपिनुपर्ने समयमा बिभिन्न बहाना देखाएर सधै हतोत्साहित पारिँदै आएको छ । अब बजारमा राम्रो सन्देश जान्छ भन्ने समय आउँनै लाग्दा यस्तै हर्कत भैरहेका छन् । अब हामी चुप लागेर बस्दैनौं ।

Advertisement

Advertisement

Advertisement