टोयोटा हाईलक्समा झण्डै १५ लाख घुस बोकेर काठमाडौं आइरहेका इन्जिनियरहरु अख्तियारको कब्जामा

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

अधिकारीले विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीसँग घुस रकम लिई बा. १ झ ५२८० नम्बरको सरकारी गाडिमा मिति बुधबार काठमाडौं आउँदै गरेको भन्ने सुचनाको आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले उक्त सवारी साधनलाई बिहीबार भक्तपुरको जगाती भन्ने स्थानबाट नियन्त्रणमा लिई कानूनबमोजिम खानतलासी गर्दा अधिकारीको साथबाट १३ लाख ३८ हजार पाँच सय र सोही गाडिमा रहेका जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साहको साथबाट एक लाख २९ हजार १०५ शंकास्पद नगद फेला परेको अख्तियारले जनाएको छ ।

अधिकारी, साह र सवारी चालक सुमन खड्कालाई टोयोटा हाईलक्स गाडीसहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको जनाइएको छ । त्यस्तै, अख्तियारले सिरहाको गोलबजार नगरपालिकाका सबइन्जिनियर उमा श्रेष्ठलाई घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ ।

श्रेष्ठले शौचालय निर्माणको भुक्तानी दिन सहज गराई दिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले श्रेष्ठलाई सेवाग्राहीसँग ५० हजार रुपियाँ घुस वापतको रकम लिइसकेको अवस्थामा गोलबजार नगरपालिका– ७ पूरानो चोहर्वा बसपार्कस्थित अशोक साहको होटलबाट बिहीबार घुससहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement