धुर्मुस सुन्तलीले बनाउन लागेको रङ्गशालाको अन्योलता हटाइने, भोलिदेखि निर्माण सुरु: रेनु दाहाल

Advertisement

चितवन । धुर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सहयोग जुटाएर बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य मङ्गलबारबाट शुरु गरिने भएको छ । यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि काम रोकिएको थियो ।

सीताराम कट्टेल (ध्रुर्मुश) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको उक्त फाउण्डेसनले भरतपुर महानगरपालिकाको रामपुरमा रङ्गशाला निर्माण गर्ने भन्दै काम अघि बढाएको बेला केही स्थानीयले विरोध जनाउँदै बार भत्काइदिएका थिए । फाउण्डेसन विवाद समाधान भएको भन्दै मङ्गलबारबाट काम शुरु गर्न लागिएको बताएको छ ।

रङ्गशाला निर्माण सहयोग समितिका पदाधिकारीसँगको छलफलपछि काम शुरु गर्ने सहमति भएको भन्दै समितिका जिल्ला संयोजक कृष्णकुमार डल्लाकोटीले बैठकमा उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, सरकारी कर्मचारीले जे जति रकम रङ्गशाला बनाउनका लागि जे जति बोलकवल र सङ्कलन गरेका छन्, त्यो फाउण्डेसनलाई हस्तान्तरण गर्ने सहमति भएको बताएका छन् ।

छलफलमा गुरुयोजना बनाउने कामलाई तीव्रता दिने, निर्माणमा सबैले साथ र सहयोग गर्ने सहमति भएको जनाइएको छ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको स्वार्थमा रंगशाला बनाउन खोजिएको भन्दै काँग्रेस पक्षधरहरुले यसमा खासै चासो नदिएको अवस्था छ ।

दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मङ्गलबारबाट फाउण्डेसनले काम अघि बढाउने बताएकी छन् । उनले रङ्गशला बनाउन बाताबरण बन्दै गएको दावी पनि गरेकी छन् । रेनुले आर्थिक सङ्कलन गरी पहिलो चरणमा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्ने र निर्माणको काम छिटो अधि बढाउने योजना रहेको बताएकी छन् ।

रङ्गशाला निर्माणका लागि छ करोड ५० लाख रुपियाँ बोलकवल भए पनि अहिलेसम्म पैसा भने उठेको छैन् । झण्डैं तीन अर्ब लगानी गरेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गामा बनाउन लागिएको यस रङ्गशालाको निर्माण कार्य केही समयदेखि अन्योलमा रहेको थियो ।

Advertisement

Advertisement

Advertisement