‘क्लिन फिड’ लागू गर्ने कुराबाट कुनै पनि हालतमा सरकार पछि हट्दैन्ः गोकुल बास्कोटा

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विज्ञापन क्षेत्रमा ‘क्लिन फिड’ लागू गर्ने कुराबाट कुनै पनि हालतमा पछि हट्न नसकिने स्पष्ट पारेका छन् । संसदको विकास तथा प्रविधि समितिको बैठकमा सोमबार उनले उक्त कुरा स्पष्ट पारेका हुन् ।

बास्कोटाले राष्ट्रको हितलाइ दृष्टिगत गरी ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सरकारले प्रस्तुत गरेको भन्दै यसबाट क्लिन फिडको प्रावधान हटाउन नसकिने स्पष्ट पारे । बैठकमा समितिका सदस्यद्धय लक्ष्मणलाल कर्ण र एकवाल मियाँले विधेयकबाट क्लिन फिड लागू गराउने प्रावधान हटाउन संशोधन प्रस्ताव राखेपछि बास्कोटाले सरकारलाई यो कुरा मान्य नहुने बताएका हुन् ।

मन्त्री बास्कोटाले भने, ‘सरकारले अध्ययन गरेर राष्ट्रको हितसँग सम्बन्धित भएर यो विधेयक ल्याएको हो । सरकार यसबाट पछि हट्ने संभावना छैन् ।’ उनले संशोधन प्रस्ताव फिर्ता गर्न कर्ण र मियाँलाई आग्रह पनि गरे । क्लिन फिड लागू गर्ने सरकारी तयारीको विज्ञापन र मिडिया व्यवसायीले स्वागत गरे पनि केवल टिभी सञ्चालकहरुले भने विरोध जनाइरहेका छन् ।

क्लिन फिड लागू नहुँदा राज्यलाई बर्षेनी अर्बौं रुपियाँ नोक्सान हुनुका साथै नेपाली कलाकारहरुले पनि अवसर पाउने, नेपाली संस्कृतिको पनि संरक्षण हुने विज्ञापन व्यवसायीहरुले बताउँदै आएका छन् । मन्त्री बास्कोटाले नेपालका कलाकार, नेपालका मिडियालाई समृद्धितर्फ अघि बढाउने भएकाले क्लिन फिडको प्रावधान हटाउन नसकिने भन्दै विज्ञापन बजारलाई नियमन गर्न राखिएको सो प्रावधान सय पटक छलफल गरे पनि हटाउने पक्षमा सरकार नरहेको बताए ।

समितिका केही सदस्यहरुले क्यासिनोले विज्ञापन गर्न नपाउने प्रावधा विधेयकबाट हटाउन पनि माग गरेका थिए ।

Advertisement

Advertisement

Advertisement