ललितपुर क्षेत्रमा दुई–तीन दिन भित्रै खानेपानी आपूर्ति सहज हुन्छः केयुकेएल

Advertisement

काठमाडौं । केही दिनअघि काठमाडौं उपत्यकामा आएको बाढीका कारण ललितपुर क्षेत्रमा बढी क्षति पुगेका खानेपानी वितरण प्रणालीहरुको काम सुचारु भईरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ ।

बाढीले ललितपुरको नल्लु, देवकी र बासुकी मुहानमा र फर्पिङमा पहिरो गएका कारण केही दिनदेखि ललितपुर क्षेत्रमा खानेपानी आपूर्ति हुन सकिरहेको छैन । ललितपुर क्षेत्रमा खानेपानीको अभाव चर्किंदै गएपछि केयुकेएलले देवकी र बासुकी मुहानको मर्मतलाई तीव्रता दिएको जनाएको हो ।

बाढीका कारण देवकी र बासुकी मुहानमा पूरै क्षति पुर्याएको थियो भने नल्लुमा करिब साढे २ किलोमिटर पाइप लाइन बगाएको थियो । केयुकेएलको ललितपुर शाखाका प्रमुख डोलप्रसाद चापागाईले तत्कालका लागि देवकी र बासुकी मुहानको मर्मत गरी करिब ५० प्रतिशत पानी चापागाउँको रिजर्भवायर ट्यांकीमा खसाल्न सकिएको बताए ।

उनले भने, ‘तत्काल देवकी र बासुकी मुहानको मर्मत गरिरहेका छौं । यी दुई मुहानको मर्मत गरेर भएपनि ललितपुर क्षेत्रमा पानी वितरण गर्ने तयारी गर्दैछौं, उता फर्पिङमा पहिरोले मुहान र पाइप बगाएर पूरै क्षति पुर्यायो । त्यसको पनि मर्मत गर्दैछौं । तत्कालका लागि २–३ दिनभित्र नै खानेपानीको आपूर्ति सहज हुन्छ ।’

बाढीले क्षति पुर्याएको मुहान र पाइपलाईनको विषयमा अध्ययन तथा अनुगमन गर्दै आएका काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाले बाढीबाट मुहान र पाइपलाईनमा गरी करिब ३ करोड ७१ लाख बराबरको क्षति भएको जानकारी दिए ।

केयुकेएलले फर्पिङबाट पानी पम्पिङ गरी ललितपुरका विभिन्न सहरबजारमा खानेपानी वितरण गर्ने गरेको छ भने देवकी, बासुकी र नल्लुबाट आउने पानी ललितपुरको चापागाउँस्थित रिजर्भवायर ट्यांकीमा खसाली त्यहीँबाटै वितरण गर्ने गरेको छ । फर्पिङबाट पम्पिङ गरेर ल्याइएको पानी ललितपुरका पश्चिमतिरका केही ठाउँहरुमा समेत वितरण गर्ने गरिएको छ ।

Advertisement

Advertisement

Advertisement