तनहुँको राजश्व सङ्कलनमा वृद्धि

Advertisement

काठमाडौँ । गत आर्थिक वर्षमा तनहुँमा पाँच अर्ब ८१ करोड २७ लाख दुई हजार ९२७ रुपियाँ राजश्व सङ्कलन गरिएको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव २७ प्रतिशतले वृद्धि भएको हो । आव २०७४/७५ मा ८२ करोड ९७ लाख ७६ हजार ५८५ रुपिया राजश्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार, गत आर्थिक वर्षमा सङ्घतर्फ चार अर्ब ९३ करोड ६५ लाख १० हजार ६२३ रुपियाँ र प्रदेशतर्फ १४ करोड ४७ लाख ६२ हजार ३४७ गरी कूल पाँच अर्ब ८१ करोड २७ लाख दुई हजार ९२७ रुपियाँ राजश्व सङ्कलन भएको छ ।

जिल्लामा सबैभन्दा बढी आन्तरिक राजश्व विभागबाट चार अर्ब ९३ करोड ६५ लाख १० हजार रुपियाँ राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका प्रमुख विष्णुहरि वाग्लेले जानकारी दिए ।

यसैगरी गत आवमा सङ्घीयतर्फ सात अर्ब ४० करोड ४६ लाख १३ हजार २८१रुपियाँ वजेट विनियोजन भएकामा सो अवधिमा सात अर्ब १८ करोड ५८ लाख ६० हजार ७९२ रुपियाँ खर्च भएको उनले जानकारी दिए।

गत आवमा पूँजीगततर्फ १५ अर्ब ५३ करोड ९१ लाख २१ हजार रुपियाँ वजेट विनियोजन भएकोमा सो अवधिमा १२ अर्ब ६६ करोड ५३ लाख तीन हजार ८१३ रुपिया खर्च भएको छ । सङ्घीयतर्फको कूल खर्चमा स्थानीय तहको अंश तीन अर्ब ७८ करोड ९६ लाख ३० हजार ७६६ रुपियाँ रहेको छ ।

यसैगरी गत आवमा प्रदेशतर्फ एक अर्ब ८२ करोड ८१ लाख ५६ हजार ८२५ रुपियाँ वजेट विनियोजन भएकामा सो अवधिमा एक अर्ब १८ करोड ५१ लाख ३५ हजार ५७२ रुपियाँ खर्च भएको छ ।

आख्तियारी ढिलो आएका कारण सङ्घको तुलनामा प्रदेशको वित्तीय प्रगतिमा कमी देखिएको कार्यालयका सूचना अधिकारी एवं कोष नियन्त्रक धर्मभक्त बस्यालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement