धागो तथा कपडासम्वन्धी मेला असोज दोस्रो साता भृकुटीमण्डपमा, कपडाका नयाँ ब्राण्डहरु लन्च हुने

Advertisement

काठमाडौं । धागो तथा कपडासम्वन्धी मेला ‘नेपाल यार्न एण्ड टेक्सटायल एक्स्पो’ असोज देस्रो साता भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल धागो उत्पादक संघले आयोजना गर्न लागेको मेलाको यो दोस्रो संस्करण हो ।

असोज ९ देखि १२ गतेसम्म चार दिन सञ्चालन हुने यस पटकको मेला वृहत हुने संघका अध्यक्ष पवन गोल्याणले बताए । उनका अनुसार यस पटकको बेलामा नेपाली कपडाका नयाँ ब्राण्ड पनि लन्च हुने कार्यक्रम रहेको छ । धागो र कपडासँग सम्वन्धित चेन उद्योगहरुलाई समेटेर लैजाने योजनाअनुसार यस पटक लोकल गार्मेन्टहरुलाई पनि मेलामा सहभागी गराउन लागिएको गोल्याणले बताए ।

नेपालमा धागो तथा कपडा उद्योगको ठूलो संभावना रहे पनि चोरी पैठारी र न्यून बिजकीकरणका कारण स्वदेशी धागो तथा कपडा उद्योगहरु अघि बढ्न नसकिरहेको बेला पछिल्लो समयमा सरकारले आयातमा केही कडाई गरेको छ । बढ्दो आयातलाई निरुत्साहित गरी धागो तथा कपडा उद्योगका क्षेत्रमा पाँच लाख नयाँ रोजगारी सिर्जना गर्ने र १० हजार नयाँ उद्योग खोल्ने योजना रहेको सुनाउँदै अध्यक्ष गोल्याणले सरकारले पनि यस प्रयासलाई साथ दिनुपर्ने बताए ।

यस पटकको मेलामा फेशन शोहरुका साथै नेपालमा उत्पादित धागोबाट बनेका उच्चस्तरीय कपडा, होजियरी, सर्टिङ–सुटिङ, निटिङको प्रदर्शन र बिक्री गरिने छ । साथै, मेलामा आधुनिक प्रविधिका मेशिनरीदेखि धागो तथा कपडा उद्योगका नयाँ प्रविधिका बारेमा समेत जानकारी दिइने छ ।

हाल नेपालमा चारवटा मात्रै ठूला धागो उद्योगहरुः रिलायन्स स्पिनिङ, त्रिवेणी स्पिनिङ, जय स्पिनिङ तथा जगदम्बा स्पिनिङ रहेका छन् । सरकारी स्वामित्वको बुटबल धागो कारखाना र ज्योति स्पिनिङ उद्योग बन्द भएपछि चार वटामात्रै सञ्चालनमा आएका छन् ।

यी उद्योगहरुले पोलिस्टर, भिस्कोस, सुती, एक्रेलिक, मिलान्ज, टेक्सराइज्ड, ब्लेण्डेड रंगिन तथा सादा गरी हाल बार्षिक ४० हजार मेट्रिकटन धागो उत्पादन गर्दै आएका छन् । बुटवल र ज्योति हुँदा यो उत्पादन ६० हजार मेट्रिकटनमा रहेको गोल्याण बताउँछन् । उत्पादनमध्ये पनि मुलुकमा अनुकुल बजार नहुँदा ८० प्रतिशत बाहिर निर्यात हुने गरेको र २० प्रतिशत मात्रै आन्तरिकरुपमा खपत हुने गरेको छ ।

उनले नेपाली धागोहरु उच्चगुणस्तरीय हुँदाहुँदै पनि न्यून बिजकीकरण गरी चोरी पैठारीमार्फत भित्रिएका धागो तथा कपडाहरुका कारण आन्तरिक बजारमा आयातितले ओगटेको बताउँछन् । तीस अर्ब रुपियाँ लगानी रहेको यस धागो उद्योगहरु चोरी पैठारीबाट भित्राइएका कपडाहरुका कारण फस्टाउन नसकेको गोल्याणको भनाई छ ।

Advertisement

Advertisement

Advertisement