ऋण लिने नेपालीको संख्या साढे १४ लाख, २ करोड ७३ लाखले बैंकमा राख्छन् पैसा

Advertisement

काठमाडौं । बैंकबाट ऋण लिने नेपालीहरुको संख्या १४ लाख ५४ हजार पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधीमा बैंकबाट ऋण लिने नेपालीहरुको संख्या १ लाख ६७ हजारले बढेको छ । २०७५ बैशाखमा १२ लाख ८७ हजार नेपालीले मात्रै बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिने गरेका थिए ।

त्यस्तै, बैंकमा पैसा राख्नेहरुको संख्या २ करोड ७३ लाख पुगेको छ । अर्थात क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुमा निक्षेप खाताको संख्या २ करोड ७३ लाख पुगेको हो । यद्यपी यसमा एकै व्यक्तिका बहु खाताहरु समेत समावेश छन् । २०७५ बैशाखमा निक्षेप खाताको संख्या २ करोड २५ लाख मात्रै थियो ।

राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा ३ हजार १ सय ८८ वटा एटिएमहरु सञ्चालनमा छन् । जु २०७५ बैशाखमा २ हजार ६ सय २४ वटा मात्रै थियो । मोबाईल बैंकिङका ग्राहकको संख्या ७० लाख पुगेको छ भने इन्टरनेट बैंकिङका ग्राहकको संख्या ८ लाख ९३ हजार पुगेको छ । डेबिट कार्ड लिनेहरुको संख्या ६२ लाख ८१ हजार पुगेको छ ।

हालसम्म ७३२ वटा स्थानीय तहहरुमा बाणिज्य बैंकका शाखा सञ्जाल विस्तार भैसकेका छन् । बाणिज्य बैंकहरुको शाखा सञ्जाल ३ हजार ५ सय ३९ पुगेको छ भने विकास बैंकको १ हजार २ सय ५० वटा पुगेको छ । वित्त कम्पनीहरुको शाखा २०५ वटा पुगेको छ । त्यस्तै, लघु वित्त कम्पनीहरुको शाखा भने ३ हजार ५ सय ७० वटा पुगेको छ ।

सबै प्रकारका वित्तिय संस्थाहरुको गरि कुल ८ हजार ५ सय ६४ पुगेको छ । जुन २०७५ जेठमा जम्मा ६ हजार ४ सय १४ वटा मात्रै थियो । हाल ३ हजार ४ सय ११ जना नेपाली बराबर बैंक तथा वित्तिय संस्थाको एक शाखा रहेको छ ।

Advertisement

Advertisement

Advertisement