काठमाडौँ महानगरपालिकाले कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउदै

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समुदायस्तरबाटै कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउन शुरु गरेको छ । डल्लु आवास क्षेत्रबाट महानगरले सामूहिकरूपमा फोहर व्यवस्थापन शुरु गरेको हो ।

घरमा काम नलाग्ने सबै कुरा स्थानीयवासीले फोहरको गाडीमा हाल्दा ठूलो परिमाणमा फोहर उत्पादन भइरहेकाले वर्गीकरण थालिएको र तीमध्ये कुहिने फोहरलाई सङ्कलन गर्ने गाडीमा नपठाएर स्थानीयस्तरमै व्यवस्थापन थालिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । घरघरबाट निस्कने फोहरमध्ये सबैभन्दा ठूलो परिमाणमा कुहिने फोहर हुने गरेको छ, उनले भने, यिनको स्थानीयस्तरमै व्यवस्थापन गर्न सकिने भएकाले अहिले हाम्रो ध्यान यसमा गएको हो ।

कामपाले परीक्षणका रुपमा डल्लु क्षेत्रमा प्रारम्भ गरेको यो काम आगामी दिनमा अरु वडामा समेत विस्तार गर्दै जाने योजना रहेको प्रवक्ता डङ्गोलले बताउनुभयो । यहाँका ५० घरले एकै स्थानमा फोहर जम्मा गरिरहेका छन् । महानगरले कुहिने र नकुहिने फोहरका लागि फरक–फरक गाडीसमेत व्यवस्था गरेको छ । उनले भने, यसले गर्दा ल्याण्डफिल साइट जाने फोहरको परिमाण कम भएको हामीले पाएका छौँ ।

महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वटा वडामा निजी संस्थाले फोहर सङ्कलन गर्दै आएको कामपाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । तीमध्ये कतिपय निजी संस्थाले पनि फोहरको वर्गीकरण शुरु गरेका उल्लेख गर्दै उनले भने, फोहरको दीर्घकालीन व्यवस्थापनका लागि वर्गीकरण मात्रै विकल्प भएकाले त्यसमा पनि उनीहरुसँग मिलेर काम गरिनेछ ।

काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिकटन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको छ । सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन् । काठमाडौँ उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहर विसर्जन गर्दै आएका छन् । सरकारले फोहर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणसमेत शुरु गरेको छ ।

Advertisement

Advertisement

Advertisement