पूँजी बजारका लगानीकर्ताले हतोत्साहित हुनुपर्ने कुनै कारण छैनः छोटेलाल रौनियार

Advertisement

काठमाडौं । यो वर्षा सेयर बजारका लागि राम्रो समय हुनुपर्छ । सरकारले बजेटबाट पुँजीगत लाभकरलाई ७.५ प्रतिशतबाट ५ प्रतिशतमा सिमित गरिदिएको छ । बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढेको छ । सेयर कारोबारमा अनलाइन कार्यान्वयनमा आईसकेको छ । ब्रोकरलाई मार्जिन टे«डिङका लागि बाटो खुलेर प्रक्रिया समेत अघि बढिसकेको छ ।
पुँजीगत लाभकर गणना बिधीका बारेमा रहेको अन्यौलता हटाउन लगानीकर्ता, सिडिएस, नेप्से र धितोपत्र बोर्डले संयुक्त रुपमा प्रस्ताव तयार पारेर पठाईसकेका छौं । २०६४ साउन १ गतेदेखि २०७६ असार मसान्तसम्मको भारीत मूल्य निकालेर कर निर्धारण गर्ने सहमति भएको छ । अब आन्तरिक राजश्व कार्यालय मार्फत अर्थमन्त्रालयले यसलाई कार्यान्वयन गर्ने वित्तिकै अहिले देखिएको सबै भन्दा ठूलो समस्या समाधान भैहाल्छ । हामीले विद्यमान कानुनले उपलब्ध गराएको व्यवस्थामा टेकेर नै समाधान निकालेका हौं । त्यसकारण पनि सेयर बजारका लगानीकर्ताले आत्तिनुपर्ने अवस्था छैन् ।

फेरी यो लगानीका लागि उपयुक्त समय पनि हो । प्रोफिट बुक गर्ने समय पनि हो । बर्षाै पुराना राम्रो रिजर्भ भएका कम्पनीहरुको सेयर पनि थोरै मूल्यमा दोश्रो बजारबाट खरिद गर्न सकिन्छ । अहिले आईपीओमा भन्दा दोश्रो बजारमा लगानी गर्न सहज छ र मूल्य पनि त्यस्तो धेरै छैन् ।

मौद्रिक नीतिको मौनता
मौद्रिक नीतिले पुँजी बजारबारे केहि पनि बोलेन भन्ने चिन्ता धेरैले गरेको देखियो । त्यसैलाई देखाएर आवेशमा टिप्पणीहरु गरेको पनि देखियो । मौद्रिक नीतिले केहि नबोल्नु भनेको बजार प्रति नकारात्मक हुनु होइन । करका सवालहरु बजेटले स्पष्ट पारिसकेका थिए । लाभकर गणना बिधी पनि अर्थ मन्त्रालयको सरोकारको बिषय भएकाले मौद्रिक नीतिमा बोल्नु आवश्यक नै थिएन । त्यसकारण मौद्रिक नीतिलाई जोडेर सेयर बजारबारे आवेशमा टिप्पणी गर्नु आवश्यक छैन् ।

सरकारले लिएका सबै नीतिले सेयर बजारका लागि राम्रो सन्देश दिएको छ । मौद्रिक नीतिले किन बोलेन भन्ने पनि कहीँ सवाल हुन्छ ? अहिलेको सेयर बजारमा ७० प्रतिशत हिस्सा बैंक तथा वित्तिय संस्थाहरुको छ । मौद्रिक नीति अघि फोर्स मर्जरको कुरा थियो । फोर्स मर्जरले केहि त्रास थपेको पक्कै हो तर प्रोत्साहनसहितको मर्जरले सेयर बजारमा थप स्थायीत्व ल्यााउने आस गर्न सकिन्छ ।

तर यतिबेला सोझा र नयाँ लगानीकर्ता हतोत्साहित भएका छन् । पुँजीगत लाभकरको विषय पनि टुङिगएन भन्ने त्रास उनीहरुमा देखिएको छ । जबकी यो विषय अर्थमन्त्रालयको हो र हामीले उपयुक्त विकल्प सिफारिस गरिसकेका छौं । म हेरिरहेको छु, लगानीकर्ता हतोत्साहित छन् तर त्यसरी हतोत्साहित हुनुपर्ने कुनै कारण छैन् ।
अब सेयर बजारका लागि राम्रो दिनको सुरुवात हुनेछ ।(रौनियार नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष हुन)

Advertisement

Advertisement

Advertisement