निर्माण सामग्री सहज उपलब्ध नहुँदा काममा बाधा

Advertisement

काठमाडौं । ढुङ्गा, गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको खरीद र ढुवानी सहज नहुँदा काठमाडौँ उपत्यकामा पूर्वाधार निर्माणमा बाधा पुगेको छ । एकातिर काठमाडौँ उपत्यकामा मालवाहक सवारीसाधन दिउँसो ढुवानी गर्न नपाउने नियम छ भने अर्कातिर स्थानीय तहले ढुङ्गा, गिट्टी, बालुवासम्बन्धी उद्योगलाई सजिलै सञ्चालन अनुमति दिएको छैनन् ।

सहजरुपमा निर्माण सामग्री उपलब्ध नहुनु काठमाडौँ उपत्यकामा अहिले विस्तारका क्रममा रहेका सडकमा निर्माणको काम अघि बढाउन समस्याका रुपमा रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । ढुङ्गा, बालुवालगायतका निर्माण सामग्रीसम्बन्धी उद्योग सञ्चालनका लागि अनुमति दिने अधिकार स्थानीय तहमा गएपछि निर्माण सामग्री पाउन गाह्रो भएको उनले भने ।

कतिपय स्थानमा पालिका र वडा दुवैले कर उठाउने गरेका छन् । उपत्यकामा दिउँसो ट्रकलगायतका मालवाहक सामग्री बोक्ने सवारीसाधन चल्न नपाउने नियमका कारण रातमा मात्रै ढुवानी हुने गरेको छ । रातमा चालकलाई काम लगाउँदा लगानी बढ्ने निर्माण व्यवसायीले बताउने गरेका छन् । हामीले समयमा काम गर्न ताकेता गर्दा निर्माण व्यवसायीले निर्माण सामग्री सहजरुपमा नपाएका कारण देखाउने गर्छन् ।

काठमाडौँ उपत्यकामा झण्डै चार वर्ष पहिलेदेखि ११ वटा सडक विस्तारको काम शुरु भएको थियो । तीमध्ये त्रिपुरेश्वर–नागढुङ्गा र चाबहिल–साँखुमा मात्रै काम केही अघि बढेको छ । अधिकांश ठाउँमा काम सुस्त छ । अधिकांश ठाउँमा सडक छेउका घर भत्काउन नदिँदा काम अघि नबढेको र बाँकी ठाउँमा निर्माण सामग्रीको अभाव रहेको आयोजनाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement