तुलसीपुरमा खुल्यो नयाँ डेरी उद्योग, तीन करोड लगानी

Advertisement

लमही । दाङको तुलसीपुरमा डेरी उद्योग सञ्चालनमा आएको छ । यसअघि तुलसीपुरमा डेरी उद्योग नहुँदा यहाँ उत्पादन भएको दुग्धजन्य पदार्थलाई उचित भण्डारण गर्न सकिएको थिएन् । अहिले भने डेरी उद्योग सञ्चालन भएपछि त्यो समस्या हटेर गएको छ ।

प्रदेश नं ५ सरकार र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा तुलसी डेरी उद्योग सञ्चालनमा आएको हो । तुलसीपुर– ७ स्थित हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले उक्त डेरी उद्योग सञ्चालनमा ल्याएको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीका अनुसार प्रदेश सरकारको २० लाख, तुलसीपुर उपमहानगरपालिकाको रु ४५ लाख ऋण अनुदान र बाँकी संस्थाको लगानी गरी करीब रु तीन करोडको लागतमा उक्त डेरी उद्योग सञ्चालनमा आएको हो । तीन वर्षभित्र भुक्तानी गर्ने गरी ६ प्रतिशत ब्याजदरमा उपमहानगरपालिकाले ऋण अनुदान दिएको थियो ।

दुईवर्ष अघिदेखि उक्त डेरी उद्योग सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाएको भए पनि चालु आर्थिक वर्षको साउन १ गतेदेखि दुग्धजन्य पदार्थ सङ्कलनको काम शुरु भएको अध्यक्ष भण्डारीको भनाइ थियो ।

दुग्धजन्य पदार्थबाट उत्पादन भएका परिकार तथा उत्पादित वस्तु असोज १ गतेदेखि मात्रै वितरण गरिने उनले बताए । भण्डारीका अनुसार उद्योगबाट प्रतिघण्टा एक हजार लिटर दूध प्रशोधन गर्न सकिन्छ । “तुलसीपुरमा दुग्धजन्य पदार्थको उद्योग नहुँदा यहाँका किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थलाई बजारीकरण गर्न सकिएको अवस्था थिएन”, उनले भने “त्यसैलाई मध्यनजर गरी हामीले दुग्ध उद्योग सञ्चालनमा ल्याएका हौं ।”

तुलसीपुरमा दुग्धजन्य पदार्थ भण्डारणका लागि डेरी उद्योग सञ्चालन हुनु राम्रो कुरा भएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । उनले भने, “यसले यहाँका व्यवसायीलाई खुशी तुल्याएको छ ।”

Advertisement

Advertisement

Advertisement