मौकामा चौका हान्दै माशुको मूल्य बढाउनेहरुलाई मूल्य घटाउन निर्देशन, नघटाए तीन लाखसम्म जरिवाना

Advertisement

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माशुको मूल्य घटाउन व्यवसायीहरुलाई निर्देशन दिएको छ । मौकाको फाइदा उठाउँदै विभिन्न बहानामा माशुको मूल्य बढाउने काम भएको भन्दै विभागले तत्काल मूल्य घटाउन निर्देशन दिएको हो ।

विशेषगरी भारतबाट खसी बोका आयातमा कमी आएपछि यही मौका छोपेर यहाँका व्यापारीहरुले खसीको मूल्य प्रतिकिलो एक हजार चार रुपियाँसम्म पुर्याएका छन् । विभागले माछा मासु व्यवसायीलाई छलफलमा बोलाएर मूल्य घटाउन शुक्रबार यस्तो निर्देशन दिएको हो। साथै, विभागले अभावको अवस्थामा आफूखुसी मूल्य कायमै राखे तीन लाख रुपियाँसम्मको जरिवाना गर्ने चतावनी पनि दिएको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले व्यवसायीहरुले मौकाको फाइदा उठाउँदै अस्वाभाविकरुपमा मूल्य बढाउने काम गरेको भन्दै बजार मूल्यलाई तर्कसंगत बनाउनुपर्ने बताए । व्यवसायीले भने भारतबाट आयातमा कमी आएसँगै मागको तुलनामा आन्तरिक उत्पादन निकै कम रहेकोले मूल्य बढेको तर्क गरेका थिए ।

अहिले काठमाडौं उपत्यकामा दैनिक एक हजार दुई सय गोटा खसीबोकाको माग छ । तर आपूर्ति आधा भन्दा कम भइरहेको व्यवसायीको दावी छ । केही महिनादेखि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट आयात गर्दा अनिवार्य रूपमा क्वारेन्टाइन र स्वस्थ प्रमाणपत्र ल्याउनुपर्ने नियम लागू गरेको छ ।

Advertisement

Advertisement

Advertisement