कांग्रेस र राजपाद्वारा संसद बैठक अवरुद्ध, रोस्टम अगाडि नारावाजी

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ।

सुरुदेखि नै बैठक अवरुद्ध गर्दै करिब ३९ मिनेट नाराबाजी गरेका थिए। विपक्षी दलले सर्लाहीमा इन्काउन्टरुमा हत्या गरिएका नेत्रविक्रम चन्द विप्लव समूहका नेता कुमार पौडेलको हत्या घटनालाई लिएर संसद अवरोध गरेका हुन्। प्रतिपक्षीले ‘कब्जामा लिएर’ प्रहरीले उनको हत्या गरेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै आएका छन्।

संसदीय सर्वोच्चता कायम गर, मानव अधिकारको रक्षा गर भन्दै उनीहरुले नाराबाजी गरेका थिए। सभामुख कृष्णबहादुर महराले भने संसदीय सर्वोच्चता कायम हुन संसद चल्नुपर्ने तर्क गर्दै बस्न आग्रह गरेका थिए। तर विपक्षी दलका सांसदहरुले अवरोध जारी राखेपछि सभामुख महराले अर्को बैठक साउन १५ गते बस्ने गरी स्थगित गरेको जानकारी गराए।

संसदीय समिति बनाउन सत्तापक्ष तयार नभएकाले संसद अवरुद्ध गरिएको कांग्रेस सांसद डिला संग्रौलाले जानकारी गराइन्। यसअघि पनि सोही मागलाई लिएर विपक्षी दलले संसद् अवरुद्ध गरेका थिए।

Advertisement

Advertisement

Advertisement