संसदीय समितिमा शेर बहादुर देउवा र जिप छिरिङबीच जुहारी

Advertisement

काठमाडौं । विज्ञापन नियमन बोर्डको सदस्यहरु नियुक्तीमा समानुपातिक समावेशी सिद्धान्त राख्ने की नराख्ने भन्नेबारे काँग्रेस सभापति शेर बहादुर देउवा र सांसद जिप छिरिङ लामाबीच जुहारी चलेको छ । विकास तथा प्रविधि समिति बैठकमा तेश्रो पटक उपस्थित भएका काँग्रेस सभापति शेर बहादुर देउवाले ‘समानुपातिक भनेर मात्रै हुन्छ, काम गर्न सहज हुनुपर्दैन ?’ भन्दै प्रश्न गरेका थिए ।

विज्ञापन नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथीको दफावार छलफल सहभागी हुन देउवा तेश्रो पटक विकास समिति उपस्थित भएका थिए । करिब १५ मिनेट बैठकमा बसेका देउवाले दुई पटक आफ्ना कुरा राखे । विधेयकको दफा १८ मा विज्ञापन नियमन बोर्डको व्यवस्था थियो । त्यसलाई सात सदस्यिय बनाउने सबै सदस्यबीच सहमति भयो । तर नियुक्तीको सिद्धान्त के हुने भन्नेबारे किचलो निस्कियो ।

काँग्रेस सांसद जिपछिरिङ लामाले बोर्ड सदस्यहरुको नियुक्तीमा समानुपातिक समावेशी सिद्धान्त लागु गर्नुपर्ने व्यवस्था राख्न उपयुक्त हुने बताए । त्यस लगत्तै काँग्रेस सभापति देउवाले आफ्ना धारणा राखे । ‘नेपालमा कति वटा जाति छन् ? २÷३ जनाको नियुक्तीमा सबैलाई कसरी समेट्ने ? समानुपातिक भनेर मात्रै हुन्छ ? काम गर्न सहज हुनु पर्दैन ?’, देउवाले प्रश्न गरे । उनले समानुपातिक समावेशी सिद्धान्त राम्रो भएपनि सबै ठाउँमा लागु गर्न असहज हुने र काम गर्न पनि कठिन हुने धारणा राखे ।

देउवाले बोलेर नसक्दै जिपछिरिङले भने–‘एउटाको सहभागीता त हुन्छ नी, सबैलाई राख्ने कहाँ भनेको हो र ?’, जिपछिरिङ त्यतिकैमा रोकिएनन्, उनले अघि भने–‘बहुमत सदस्यहरुकोे राय समावेशी समानुपातिक राख्नुपर्छ भन्ने छ क्यारे सभापतिज्यू ।’ उनले आफ्ना धारणा व्यक्तिगत भएको पनि बताउन भ्याए ।  त्यसपछि फेरी देउवाले आफ्नो धारणा राखे,‘एउटा कुरा चैं बुझौं, समितिमा ऐन निर्माण गर्दा पक्ष विपक्ष नलिऔं, राम्रोसँग छलफल गर्नुस्, ऐनहरुलाई राम्रो बनाउनुपर्छ ।’

यति भनेर देउवा पार्टीको काम छ भन्दै बैठकबाट निस्किए, देउवाकै पछिपछि गए सांसद जिपछिरिङ लामा पनि । देउवालाई विदाई गरेर लामा फर्किएपछि बोर्ड गठनको व्यवस्था पास गर्ने प्रक्रिया अघि बढ्यो । सभापतिले के गर्ने भनेर धारणा मागिन् । लामाले समावेशी समानुपातिक सिद्धान्त नै चाहिने अडान राखे । त्यतिकैमा नेकपाका सांसद केदार सिग्देलले ‘कम्तिमा पूर्व प्रधानमन्त्रीको एउटा कुरा त मानौं, उहाँको कुरालाई सम्मान त गरौं’ भन्ने धारणा राखे ।

नेकपाका अर्का सांसद गणेश पहाडीले विपक्ष दलका प्रमुख नेता तथा पूर्व प्रधानमन्त्रीको कुरा मान्नुपर्ने बताए । जिपछिरिङ लामाले आफ्नो अडान छाडेनन् । अन्ततः सभापति कल्याणी खड्काले बीचको बाटो भन्दै बोर्ड सदस्यहरुको नियुक्तीमा संबिधानले अंगीकार गरेको ‘समावेशी सिद्धान्त’का आधारमा गर्ने भन्ने प्रस्ताव अघि सारिन र समितिले त्यसैलाई पास गर्यो ।
काँग्रेस सभापति शेर बहादुर देउवा र उनकै पार्टीका सांसद जिपछिरिङ लामाबीच समावेशी समानुपातिक सिद्धान्तबारे जुहारे चल्यो र अन्ततः बीचका बाटो समाउँदै बोर्ड सदस्य नियुक्तीको व्यवस्था पारित भयो ।

Advertisement

Advertisement

Advertisement