त्रिपुरेश्वर–नागढुङ्गा सडक चार महिना भित्रै कालोपत्रे हुने

Advertisement

काठमाडौं । चार वर्ष अघि विस्तारको काम शुरु भएको त्रिपुरेश्वर–नागढुङ्गा सडक चार महिनामा सम्पन्न हुने भएको छ । सडक क्षेत्रमा परेका घर भत्काएपछि स्थानीयवासीले विरोध गरेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध भएको थियो । अहिलेको गतिमा काम भए निर्माण सम्पन्न हुन लामो समय नलाग्ने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

‘सडकको झण्डै ८० प्रतिशत काम सम्पन्न भएको छ’, आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले भने । बाँकी काम अहिले धमाधम भइरहेको छ । चार वर्ष पहिले ठेक्का सम्झौता भए पनि लामो समयसम्म विभिन्न अवरोधका कारण काम हुन नसकेको उनले बताए ।

तेह्र किलोमिटर लामो सडक मापदण्डभन्दा कम चौडाइमा निर्माणको काम भइरहेको छ । बाइस मिटरको मापदण्ड भए पनि कुनै कुनै ठाउँमा १० मिटर मात्र पनि चौडाइ कायम भएको इञ्जिनीयर श्रेष्ठले बताए । थानकोट बजार, कालीमाटी, सोल्टीमोड, सतुङ्गललगायत स्थानमा मापदण्डभन्दा कम चौडा सडक निर्माण भइरहेको छ । यीबाहेक पहिले नै चौडाइ बढी भएका वा सार्वजनिक जग्गा भएका ठाउँमा मापदण्डअनुसार चौडाइ कायम भएको उनले बताए ।

कतिपय साँघुरा सडकमा काम गर्दा ढल र पाइप हाल्न गाह्रो भएको इञ्जिनियर श्रेष्ठले बताए । अहिले काम भइरहेको कालीमाटीदेखि सोल्टीमोडसम्मको सडकमा ढल हाल्न समस्या भएको छ । उनले भने, ‘चौडाइ पर्याप्त भएका सडकमा जसरी काम गर्न साँघुरा सडकमा सकिँदैन ।’ सडक छेउमा घर भएका घरधनीले घर र जग्गाको मुआब्जाको माग गर्दा सडक निर्माण अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।

काठमाडौं उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकमा जस्तै यो सडकमा जग्गा र घरको मुआब्जा विवादका कारण निर्माणमा ढिलाइ भएको हो । श्रेष्ठका अनुसार सडकमा रहेका रुख, बिजुलीको खम्बालगायत संरचना हटाउन नसक्दा सडक निर्माणमा ढिलाइ भएको हो । ‘विद्युत्, खानेपानी, वन कार्यालयलगायतले सडकमा रहेका संरचना हटाउन तदारुकता देखाउने गरेका छैनन्’, इन्जिनीयर श्रेष्ठले भने ।

त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको सडक निर्माणको जिम्मेवारी चार निर्माण कम्पनीलाई दिइएको थियो । विसं २०७२ असारमा तीन र असोजमा एउटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मेवारी दिइएको हो । ती सबै कम्पनीको सम्झौता अवधि गत असारमा नै सकिएको छ । ‘बज्रगुरु बिरुवा सिएम जेभी’ले ७० प्रतिशत काम सम्पन्न गरेको छ भने ‘शैलुङ शर्मा कान्छाराम जेभी’ले ८० प्रतिशत काम सम्पन्न गरेको छ । ‘लुम्बिनी शैलुङ साप जेभी’ले ८५ प्रतिशत काम सम्पन्न गरेको छ । काठमाडौंमा पाँच, ललितपुरमा चार र भक्तपुरमा एउटा सडक तथा पुलको निर्माण शुरु भएको थियो । तीमध्ये अधिकांशमा निर्माण सुस्त वा ठप्प छ । निर्माणका क्रममा रहेकामध्ये त्रिपुरेश्वर–नागढुङ्गा र चाबहिल–साँखु सडकको काम भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement