नेपाल उद्योग बाणिज्य महासंघको सत्ता संघर्ष उत्कर्षमा

Advertisement

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघमा सत्ता संघर्ष उत्कर्षमा पुगेको छ । आगामी कार्यकालका लागि को अध्यक्ष बन्ने र त्यसको सहज बाटो कसरी निर्माण गर्ने भन्नेबारे महासंघमा यतिबेला ठुलै लडाई जारी छ । त्यो लडाईलाई बुधबारको कार्य समिति बैठकमा पनि देखियो ।

वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्नबाट रोक्न पूर्व अध्यक्ष चण्ढीराज ढकाल, वर्तमान अध्यक्ष भवानी राणासहितको समुहले ठुलै शक्ति प्रयोग गरिरहेका छन् । उता, गोल्छालाई अध्यक्ष बनाउनका लागि उनी आफैं त लागिपरेकै छन्, त्यसका अलवा निवर्तमान अध्यक्ष पशुपति मुरारका लगायतको समुह पनि लागि परेको छ ।

भवानी राणालाई महासंघ अध्यक्ष बनाउन विधान संसोधन गरेर बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था कार्यान्वयन गराएका पूर्व अध्यक्ष चण्ढीराज ढकाल यतिबेला सो व्यवस्था उल्टाएर गोल्छालाई अध्यक्ष बन्नबाट रोक्ने प्रयासमा छन् । आफ्नै जोडबलमा विधान संसोधन गरेर बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था कार्यान्वयन गराएका ढकाल यतिबेला त्यसलाई उल्टाउन लागिपरेका छन् ।

यतिबेला ढकालको मुलः उदेश्य भनेको गोल्छालाई अध्यक्ष बन्नबाट रोक्नु नै हो । ढकाल समुहले जिल्ला नगर तर्फका उपाध्यक्ष किशोर प्रधानलाई अध्यक्ष बनाउन चाहेको छ । त्यसका लागि विधान संसोधन गराएर बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था खारेज गराउन उनीहरुको शक्ति केन्द्रित छ । त्यसो त अध्यक्षका लागि निर्वाचन नै हुने हो भने आईएमई समुहका अध्यक्ष तथा वर्तमान कार्य समितिका एसोसियट तर्फका उपाध्यक्ष चन्द्र ढकाल पनि निर्वाचन लड्ने सोँचमा रहेको श्रोत बताउँछ । बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाले निरन्तरता पायो भने चन्द्र ढकाल बरिष्ठ उपाध्यक्षको दौडमा हुनेछन् ।

बुधबारको कार्य समिति बैठकमा विधान संसोधनको पक्षधर र विपक्षी समुहबिच ठुलै संघर्ष देखिएको एक केन्द्रिय सदस्यले बताए । ‘विधान संसोधनको विषय पेचिलो बन्दै गएको छ, निहित स्वार्थका लागि यस्ता गतिबिधी भएपछि संस्थाको हित पक्कै पनि गर्दैन’, एक कार्यसमिति सदस्यले भने । शेखर गोल्छालाई अध्यक्ष बन्नबाट रोक्दा महासंघप्रति मारवाडी समुदायको मोह भंग हुने र त्यसले संस्थाको हित नगर्ने मत पनि महासंघ भित्र बलियो छ ।

Advertisement

Advertisement

Advertisement