चौतर्फी दबाबपछि नारिताको चार्टर उडान सुरु गर्ने तयारीमा नेपाल वायुसेवा निगम

Advertisement

काठमाडौं । चौतर्फी दबाबपछि नेपाल वायुसेवा निगमले जापानको नारिता उडान सुरु गर्न बाध्य भएको छ । यद्यपि यो उडान सिधा नभएर ओशाकाबाट चार्टर उडान हुने निगमले जनाएको छ ।

बहुसंख्यक नेपाली रहेको नारितामा निगमको वाइडबडी ए३३० लाई उडान नगरेर नेपालीको नगन्य बसोबास रहेको ओशाका उडाउन लागिएको भन्दै निगम व्यवस्थापनको चर्को आलोचना हुँदै आएको थियो ।

व्यापारिक संभावनाका हिसावले ओशाका उडान निगमका लागि प्रतिउत्पादक हुने भन्दै निगमकै कर्मचारीले समेत कार्यकारी अध्यक्ष मदन खरेलको आलोचना गर्दै आएका थिए । लामो समयसम्म वाइडबडी जहाजहरुलाई लामो टाढाका गन्तव्यहरुमा उडाउन नसकेर आलोचित भएपछि बल्ल खरेलले ओशाका हुँदै नारिताको चार्टर उडान सुरु गर्न लागेको हो ।

यद्यपि निगमले आफ्नो विज्ञप्तिमा ओशाका उडान नेपाली र जापानीहरुको मागअनुसार गर्न लागेको जिकिर गरेको छ । यसअघि टिकट बिक्री नभएपछि ओशाका उडानको मिति पर धकेलेको निगमले अब आउँदो अगष्ट २९ बाट सोही गन्तव्यमा उडानको तयारी गरेको छ ।

अब चाहीं ओशाका उडान असफल हुन नदिन पर्याप्त प्रचारप्रचार गरिएको निगमका उपकार्यकारी निर्देशक गणेश चन्दले बताएका छन् । ओशाकाको नियमित उडानका साथै नारिता विमानस्थलसम्म दुई वटा चार्टर उडानसमेत हुने भन्दै निगमको विज्ञप्तिमा नारिता उडानका लागि सुमेघ टुर्स एण्ड ट्राभल प्रालिसँग सम्झौतासमेत भएको जनाएको छ ।

यी चार्टर उडान काठमाडौं–नारिता–काठमाडौंबीच सेप्टेम्बर र अक्टोबर महिनामा हुनेछन् भन्दै निगमले पहिलो उडान सेप्टेम्बर २६ बाट हुने जनाएको छ । सो दिन नारिता गई भोलिपल्ट फर्किने छ । त्यस्तै, दोस्रो उडान अक्टोबर २ तारिखमा नारिता गई त्यसको भोलिपल्ट निगमको वाइडबडी फर्किने छ ।

चार्टरका लागि काठमाडौं–नारिता–काठमाडौंको उडान १४ घण्टाको हुनेछ । यस चार्टर उडानले जापान उडानमा नयाँ बाटो खोलेको निगमको भनाई छ । बहुसंख्यक नेपालीहरुको बसोबार नारिता वरीपरी रहेको छ । वाइडबडी खरिदको व्यवसायिक योजनामा पनि नारिता उडान गर्ने भनिएको थियो ।

तर खरेल कार्यकारी अध्यक्ष भएर आएपछि उनले नारिता उडानको सबै प्रक्रिया रद्द गरेर ओशाकामा बस्दै आएका नेपाली व्यापारी देवमान हिराचनसँग साँठगाँठ गरी ओशाकाका लागि प्रक्रिया अघि बढाएका थिए भने साउदी अरेबिया र दक्षिण कोरिया उडानका लागि सुरु भएको प्रक्रिया समेत रोकेका थिए । प्रक्रिया रद्द गरेर आफ्नो स्वार्थअनुसार खरेलले नयाँ प्रक्रिया सुरु गर्दा निगमले जहाज किन्दा लिएको ऋणको किस्ता तिर्नसमेत सकेको छेन् । खरेलले व्यक्तिगत स्वार्थले गर्दा सात महिनाअघि नै कोरियाको सोल र जापानको नारितामा नेपालको वाइडबडीले उडान सुरु गरिसकेको हुनेथियो भने नियमितरुपमा किस्तासमेत भुक्तान गर्न सफल हुने थियो ।

Advertisement

Advertisement

Advertisement