दमकमा नेपाल–चीनमैत्री औद्योगिक ग्राम निर्माण गर्न ६४ अर्ब लगानी स्वीकृत

Advertisement

काठमाडौं । लगानी बोर्डको शुक्रबार बसेको बैठकले दमकमा चाइना–नेपाल फ्रेण्डशीप इन्ड्रष्ट्रियल पार्क (नेपाल–चीनमैत्री औद्योगिक ग्राम) परियोजनाका लागि करिव ६४ अर्ब रुपियाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उक्त लगानीलाई स्वीकृति प्रदान गरेको हो ।

बैठकले लास्सा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङ–पिङ ज्वाइन्ट क्रियशन कन्ष्ट्रक्शन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी लिमिटेडको लगानी रहेको उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दमक क्लिन इण्डष्ट्रियल पार्क प्रालिलाई अनुमति पनि प्रदान गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले विराटनगरमा निर्माण तथा सञ्चालन गर्न प्रस्तावित मल्टि मोडल लजिष्टिक पार्क परियोजना स्वीकृत गर्दै सरकारलाई आर्थिक दायित्व नपर्ने गरी सिजी लजिष्टिक्स प्रालिलाई अध्ययन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

लगानी बोर्डले उक्त परियोजना विकासका लागि सिजी लजिष्टिक प्रालि र यूएई सराफ ग्रुपबीच लगानी सम्मेलन २०१९ को अवसरमा समझदारी भएको जनाएको छ । त्यसैगरी, जनकपुरमा निर्माण तथा सञ्चालन गर्न प्रस्तावित रेलवे लिंक्ड प्राइभेट फ्रेट टर्मिनल परियोजना स्वीकृत गर्दै सरकारलाई आर्थिक दायित्व नपर्ने गरी ग्रीन इन्फ्रास्टक्र प्रालिलाई अध्ययन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

हालै सम्पन्न लगानी सम्मेलनमा प्रस्तुत गरिएका परियोजनाहरुमध्ये ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत परियोजनाका लागि प्राप्त आशयपत्रको मूल्यांकनपछि सुचिकृत भएका दुई प्रस्ताव एचआईडीसीएलसँग ज्वाइन्ट भेन्चर रहेको पावर कन्ष्ट्रक्शन कर्पोरेशन अफ चाइना लिमिटेड र नेब्राज पावर क्वाटर होल्डिङ एलएलसीसहितको ज्वाइन्ट भेन्चर रहेको फुजी इलेक्ट्रिक कम्पनी लिमिटेड जापानसँग सिलबन्दी प्रस्ताव माग गर्ने निर्णय भयो ।

बैठकमा प्रधानमन्त्री ओलीले परियोजनाहरुको छनौट तथा कार्यान्वयनलाई छिटोछरितो बनाउने सम्वन्धमा आवश्यक गृहकार्य गर्न निर्देशन दिए ।

Advertisement

Advertisement

Advertisement