'ग्राउन्ड स्टेसन' नबनाउँदा अन्तरिक्ष पुगेको नेपालको पहिलो स्याटलाइटले काम पाएन

Advertisement

काठमाडौं । अन्तरिक्षमा पुगेको नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ डेढ महिनादेखि पृथ्वीको कक्षमा घुमिरहेको छ । तर, स्याटलाइटबाट तथ्यांक लिने र विश्लेषण गर्ने ग्राउन्ड स्टेसन भने अझै तयार भएको छैन । ग्राउन्ड स्टेसन नहुँदा भू–उप्रगहले पठाउने तथ्यांक नेपालबाट विश्लेषण हुन सकेको छैन ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ग्राउन्ड स्टेसन बनाउन आव ०७५।७६ मा छुट्याएको बजेट नै फ्रिज भएको हो । ग्राउन्ड स्टेसन बनाउन १९ चैतमा बोलपत्र आह्वान गरेको नास्टले सप्लायर्स डिकेड इन्टरनेसनलसँग १९ लाख १५ हजारमा सम्झौता गरेको थियो । तर, समयमै सामान खरिद गरेर कागजात पूरा नगरेकाले बजेट खर्च नभएको नास्ट प्रवक्ता डा. सुरेश ढुंगेलले बताए ।

तर, साउन मसान्तभित्रै ग्राउन्ड स्टेसन तयार हुने प्रवक्ता ढुंगेलको दाबी छ । ‘सबै काम सकिएको छ, अब एन्टेनाको पिलर उठाउने काम मात्रै बाँकी छ,’ उनले भने, ‘निःसर्त अनुदान रोकिएको छ, ससर्त अनुदानका लागि योजना र बजेट पठाइसकेको छौँ । यसवर्ष ग्राउन्ड स्टेसनका लागि पुनः २० लाख विनियोजन भएको छ ।’ ग्राउन्ड स्टेसनका लागि ट्रान्समिटर, रिसिभर, एन्टिना, कम्प्युटर, मनिटरलगायतका उपकरण आवश्यक पर्छन् । अन्तरीक्षामा भू–उपग्रहले एडप्ट गर्ने तथ्यांक अध्ययन गर्ने टोली बस्नका लागि बनाइने प्राविधिक कक्ष नै ‘ग्राउन्ड स्टेसन’ हो ।

‘नेपाली स्याटलाइट अन्तरीक्षमा छ, तर ग्राउन्ड स्टेसन तयार नहुँदा स्याटलाइटबाट तथ्यांक लिएर विश्लेषण गर्न पाइएको छैन,’ स्याटलाइट निर्माणमा संलग्न नास्टका वैज्ञानिक हरिराम श्रेष्ठले भने । २ असारमा अन्तर्राष्ट्रिय अन्तरीक्षकक्ष (आइएसएस)बाट नेपाली स्याटलाइटसँगै श्रीलंकाको ‘राभाना’ र जापानको ‘उगिसु’ नामक नानो स्याटलाइट पृथ्वीको कक्षमा छाडिएका थिए । स्याटलाइट निर्माणमा सहयोग गर्ने जापानको आफ्नै ग्राउन्ड स्टेसन छ । श्रीलंकाले पनि आफ्नो स्याटलाइटले लिएका तथ्यांक आफ्नै ग्राउन्ड स्टेसनबाट विश्लेषण गर्न थालिसकेको छ ।

नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठले जापानी क्युटेक युनिभर्सिटीको बर्ड्स–थ्री परियोजनाअन्तर्गत बनाएका नेपाल, श्रीलंका र जापानका तीनवटै स्याटलाइट ५ जेठमा अमेरिकाको भर्जिनियाबाट अन्तर्राष्ट्रिय अन्तरीक्ष कक्ष (आइएसएस) पठाइएको थियो ।

Advertisement

Advertisement

Advertisement