त्रिशूली थ्री बी सवस्टेशनको काम ६० प्रतिशत सम्मपन्न, चिलिमे–त्रिशूलीको भौतिक प्रगति ४५ प्रतिशत

Advertisement

काठमाडौं । तोकिएको समयमा काम नहुने रोगबाट व्याप्त छ नेपाल । साना, मझौला तथा ठूला आयोजना त्यसैको मारमा परेका छन् । निर्माण व्यवसायीको अनेकन बहाना, स्थानीयवासीको अवरोध तथा अन्य प्राविधिक र प्रशासनिक झन्झटका कारण पनि परियोजनामा ढिलाइ हुँदै आएको छ ।

प्राकृतिक विपत्ति तथा अन्य कारण पनि आयोजनाको ढिलाइका कारण बन्दै आएका छन् । त्यस्ता कारणले गर्दा सरकारको अपेक्षासमेत पूरा नहुने र समय र लागत बढ्दा पर्ने नकारात्मक प्रभावले दीर्घकालीनरुपमा नै असर पर्ने गरेको छ । त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करीब ६०० मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि सहायक सिद्ध मानिएको एक आयोजनाको निर्माण प्रगति भने लोभलाग्दो रहेको छ ।

निर्माणाधीन त्रिशूली ३ बी सव स्टेशनको निर्माण शुरु भएको धेरै समय भएको छैन । गत चैतदेखि शुरु भएको सो आयोजनाको हाल ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । समयमा काम नहुने संस्कारबाट बाहिर निस्केर आयोजना युद्धस्तरमा अगाडि बढेको छ । समयमै काम हुँदैन, सधैँ अवरोध मात्र हुन्छ भन्ने नकारात्मक सोचलाई समेत आयोजनाले गलत सावित गरिदिएको छ ।

पछिल्लो विवरणअनुसार माथिल्लो त्रिशूली थ्री बी हब सवस्टेशनको ट्रान्सफर्मर रहने स्थानको जग हालिएको छ भने ‘कन्ट्रोल विल्डिङ’ बनाउन शुरु भएको छ । त्रिशूली नदी किनारमा सबस्टेशनको सुरक्षाका लागि पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । सबस्टेसनमा प्रयोग हुने उपकरणको उत्पादन भइरहेको र आगामी डेढ महीनाभित्रमा आयोजना स्थलमा आइपुग्नेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ गाउँपालिका–५ पहिरेबेंसीमा निर्माणाधीन सबस्टेसनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएको आयोजना प्रमुख थर्कबहादुर थापाले बताए ।‘भौतिक प्रगति एकदमै राम्रो छ, हामीले समयभित्रै काम सम्पन्न गर्ने गरी नै काम गरिरहेका छौँ’, आयोजना प्रमुख थापाको भनाइ छ । उक्त सवस्टेसनको निर्माण आगामी पुसको दोस्रो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

गत जेठमा केही स्थानीयवासीले नियतबस विभिन्न माग राखी सवस्टेशन निर्माणमा अवरोध गरेका थिए । नाजायज माग राखी अवरोध गरेपछि आक्रोसित भएका घिसिङले निर्माणस्थलमा जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अवरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिनुभएको थियो । स्थानीयको जायज माग पूरा गर्न आयोजना सधैँ तयार रहेको उल्लेख गर्दै नियतबस काम रोक्नेलाई नछोड्ने चेतावनीसमेत दिएका थिए।

सवस्टेसन मात्रै नभएर त्यस क्षेत्रमा निर्माण भइरहेको अन्य प्रसारण लाइन निर्माणमा समेत स्थानीयले सहयोग गरेको आयोजना प्रमुख थापाले जानकारी दिए । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैंक, युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण रहेको छ । आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ ।

लय समात्दै चिलिमे–त्रिशूली प्रसारण

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । आयोजनाले रसुवाको चिलिमेदेखि त्रिशूली ३ बी २२० केभी हबसम्म २७ किलोमिटर प्रसारण लाइन र चिलिमेमा सवस्टेसन निर्माण गरिरहेको छ । आयोजनाको सर्वे र डिजाइन सकिएको छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२।५ मेगावाटको साञ्जेन, १४।८ मेगावाटको माथिल्लो साञ्जेन यही प्रसारण लाइनमा जोडिनेछ । आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर ‘डबल सर्किट’ र मैलुङबाट त्रिशूली ३ बी हबसम्म आठ किलोमिटरमा भने चार वटा सर्किट रहने गरी प्रसारण लाइन निर्माण गर्नेछ । सो प्रसारण लाइनका ८० टावरमध्ये १५ वटाको जग हाल्नका लागि खाल्डो खनिएको आयोजना प्रमुख केदार सिलवालले बताए ।

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्नेछ, भिरैभिर रहेको र सडक पनि नभएकाले ढुङ्गा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

सो प्रसारण लाइनको आगामी फागुनको दोस्रो साताभित्र र चिलिमे हब सवस्टेसनको निर्माण आगामी पुसको दोस्रो साताभित्र सक्ने लक्ष्य राखिएको छ । त्रिशूली ३ बी हब सवस्टेसन र चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङ्गाओ हो । कूल तीन करोड ५० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार, जर्मन विकास बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकको लगानी छ । रासस

Advertisement

Advertisement

Advertisement