अरुण थ्रीका नयाँ प्रमुख कार्यकारी अधिकृतले उर्जामन्त्रीलाई भेटे

Advertisement

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको २२ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न भएको छ । कूल ९०० मेगावाट क्षमताको सो आयोजना भारत सरकारको स्वामित्वमा रहेको सतलज विद्युत् निगमले निर्माण गरिरहेको छ ।

आयोजना निर्माणका लागि नेपालमा एसजेभिएन अरुण तेस्रो जलविद्युत् कम्पनी स्थापना गरिएको छ । सोही कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटी आयोजनाको भौतिक प्रगतिका बारेमा जानकारी गराए ।

मन्त्री पुनले सरकारले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सीमाभित्र नै अरुण–३ परियोजना सम्पन्न हुने दावी गरे । उनले नयाँ कार्यकारी अधिकृतलाई सफल कार्यकालको शुभकामना दिँदै आयोजना निर्माणमा समस्या देखिए सरकारले आवश्यक सहजीकरण गरिदिने बताए ।

मन्त्री पुनले भने, “सरकार र ऊर्जा मन्त्रालयले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको छ, सुरक्षा प्रबन्धको व्यवस्था पनि हामीले मिलाएका छौँ । तपाईहरुले समयसीमाभित्र परियोजना निर्माण गर्नुहुन्छ भन्ने विश्वास हामीलाई छ ।”

प्रमुख कार्यकारी अधिकृत धिमानले अरुण–तेस्रो जलविद्युत् परियोजना समयसीमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाए । उनले सरकारकोतर्फबाट सहयोग प्राप्त भइरहेको भन्दै स्थानीय जनतालेसमेत परियोजना निर्माणमा सहयोग गरिरहेको जानकारी दिए । उनले सुरुङ निर्माणमा १२ प्रतिशत कामसहित परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको बताए । भेटमा मन्त्री पुनले टनेल, आयोजनाको अवस्था, सुरक्षा व्यवस्था लगायतका बारेमा चासो राखेको उनको सचिवालयले जनाएको छ ।

जवाफमा कार्यकारी अधिकृत धिमानले जग्गा अधिग्रहण, सुरक्षा अवस्था र परियोजनाको प्रगतीका बारेमा मन्त्री पुनलाई जानकारी दिनुका साथै आवश्यक सहयोग गरिदिन आग्रह गरे । उनले नेपालमा पछिल्लो समय लगानीको राम्रो वातावरण बनेको भन्दै आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानीका लागि इच्छुक रहेको बताए ।

सो आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ दशमलव ९ प्रतिशत बिजुली नेपाललाई निःशुल्क उपलब्ध गराउने छ । सो आयोजनाको शिलान्याश प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा गरेका थिए । आयोजनाले उत्पादन थालेको २५ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउनेछ ।

Advertisement

Advertisement

Advertisement