पूर्वाधार सम्मेलनमा कोरियाका पूर्वप्रधानमन्त्रीदेखि भारतका वरिष्ठ मन्त्रीसम्म आउने

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले यही भदौ २५ र २६ गते काठमाडौंमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा अघि बढेको जनाएको छ ।

परिसंघले आइतबार पत्रकार सम्मेलन गरी सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदायसमेतको सहकार्यमा ‘दिगो विकासका लागि मजबूत पूर्वाधार’ मूल भावसहित आयोजना गर्न लागिएको सम्मेलन सरकारले गत वर्ष सम्पन्न गरेको लगानी सम्मेलनको फलोअप सम्मेलनका रुपमा रहने जनायो ।

लगानी सम्मेलनका क्रममा भएका कानूनी सुधारको गतिलाई अघि बढाउन सरकारसहित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराउने तथा लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउन समेत यो सम्मेलन उत्प्रेरक हुने परिसंघका अध्यक्ष सतिषकुमार मोरले बताए ।

उनले अघिल्ला दुई पूर्वधार सम्मेलनले आगामी २०३० सम्म नेपालको पूर्वधारको अवस्था तथा अबको पूर्वधारको लागि आवश्यक थप लगानीको यकिन गर्न बृहत तथा गहन अध्ययन गर्नु पर्ने औल्याए ।

यसैमा केन्द्रित गरि परिसंघले सर्वाङ्गिण विकास अध्ययन केन्द्रसँग सहकार्यमा त्यस्तो अध्ययन पुरा भई प्रतिवेदन तयार भएको भन्दै परिसंघले तेस्रो पूर्वाधार सम्मेलनमा यो प्रतिवेदन सार्वजनिक हुने बताए ।

मोरले भने, ‘पूर्वाधारमा गरिने उच्च लगानीको ‘मल्टिप्लायर इफेक्ट’ अर्थात बहुआयामिक प्रभावले आर्थिक वृद्धिमा ठूलो योगदान गर्छ । नेपाल सरकारले पनि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षां तय गरेर पूर्वाधार विकासलाई केन्द्रमा राख्ने नीतिले निजी क्षेत्रलाई पूर्वधार विकासमा लगानी बढाउन तथा सार्वजनिक निजी साझेदारीमा ठूला परियोजना विकास गर्न अवसरहरु प्राप्त भइरहेका छन् । यो सम्मेलनमार्फत पूर्वाधारमा लगानी बढाउने अवसरहरु लिन लगानीकर्ताहरुले ध्यान केन्द्रित गर्ने छन् ।’

उनले पूर्वाधारको आवश्यकता तथा विकासमा प्रदेशहरुले देखाएको अग्रसरता तथा लक्ष्यलाई पनि यो सम्मेलनले महत्वका साथ समेट्ने छ भन्दै सम्मेलनको पूर्वतयारी स्वरुप प्रादेशिक पूर्वाधार सम्मेलन आयोजना भइरहेका छन् । प्रादेशिक पूर्वाधार सम्मेलनको निश्कर्ष पनि यो सम्मेलनको आकर्षण रहने बताए ।

दुई दिनसम्म सञ्चालन गरिने पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशहरुका पाँचसय भन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने बताउँदै परिसंघले प्रधानमन्त्रीले उद्घाटन गर्ने र दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री डाक्टर हान सुंग विशेष अतिथि रहने बताए ।

भारतबाट समेत वरिष्ठ मन्त्री र लगानीकर्तालाई आमन्त्रण गरिएको सम्मेलन यसैगरी सातै प्रदेशहरुमा मूख्यमन्त्री, सम्बन्धित मन्त्री, विकास साझेदारका प्रमुखहरु, उपप्रमुखहरुका साथै विकास साझेदार संस्थाहरु विश्व बैंक, एशियन विकास बैँक, युरोपियन युनियन, डब्लुडब्लुएफ आदिले समेत भाग लिनेछन् ।

Advertisement

Advertisement

Advertisement