१२ गुणा बढी पैसा असुल्ने पाराडाइज मेनपावरमा वैरो विभागको छापा, के हुन्छ कारवाही ?

Advertisement

काठमाडौं । तोकिएको भन्दा १२ गुणासम्म बढी शुल्क असुल्ने पाराडाइज मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।
विभागले ललितपुरस्थित पाराडाइज मेनपावर कम्पनीमा छापा मारेर अनधिकृत रुपमा असुलिएको रकम, रसिद, कम्प्युटर लगायतका कागजात तथा उपकरण समेत बरामद गरेको हो ।

छापा मार्दा कामदारसँग १२ गुणा भनदा बढी सेवा शुल्क असुल गरेको रंगेहात फेला पारेको हो । विभागका शाखा अधिकृत कुशल बरालको नेतृत्वमा कपिल पौडेल र सुवर्ण शाक्य सहितको टोलीले वैदेशिक रोजगारीका लागि उक्त प्रालिबाट श्रम स्वीकृति निकालेका देवेन्द्र गुरुङ्ग, कुमार गुरुङ्ग, सुमन सार्की र गङ्गा परियारलाई बुझाउन लगाइएको रकममध्ये कुमार गुरुङ्ग र देवेन्द्र गुरुङ्गबाट बुझ्दै गरेको क्रमशः ११५००० र ११०००० रकम जफत गरेको थियो । गङ्गा परियारले रकम बुझाउन आइएमईबाट मगाएको पैसा बुझाउन बाँकी रहेको र सुमन सार्कीले यूएइमा क्लिनर पदका लागि जान पोखरामै सविना गुरुङ्गलाई १३०००० रकम बुझाएको खुल्न आएको छ ।

सञ्चालकलाई कागज गराई कामदारहरुलाई वैदेशिक रोजगारीमा उडान हुने गरी पठाउन र गन्तव्यमा पुगेपछि पनि सम्झौतामा उल्लिखित सबै शर्त बमोजिम कामको सुनिश्चितता गराउने शर्तनामा गराएको छ भने विभागमा वयानका लागि समेत पत्र काटेको छ। आइतबार नै विभागले सोही प्रालिले पोखराको ग्रान्ड शिवालय होटलमा अवैध तरिकाले अन्तर्वार्ताको गर्दै गरेको भन्ने उजुरीका आधारमा आकस्मिक अनुगमन गर्न श्रम तथा रोजगार कार्यालय पोखराबाट टोली खटाएको थियो । तर टोली त्यहाँ पुग्नु अगावै शाखा कार्यालयका कर्मचारीहरु शाखा बन्द गरेर बाहिर निस्किसकेका थिए । त्यसै गरी पृथ्वीचोकको टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्सेजमा समेत टोलीले आकस्मिक अनुगमन गरेको थियो ।

बोर्ड हटाई अन्तर्वार्ता लिने गरेको उक्त स्थानमा बाहिर च्यानल गेट लगाई एक एक व्यक्तिलाई भित्र बोलाई अन्तर्वार्ता लिंदै गरेको पाइएको थियो । टोलीले उक्त स्थानबाट केही कागजात र कम्प्यूटर हार्डडिस्क बरामद गरी बयानका लागि पत्र काटेको छ । ‘वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति र ठगी अन्त्यका लागि अभियान नै सुरु गरेका हौं, दिन रात नभनी काम गरिरहेका छौं, अब नागरिकले परिवर्तन महसुश गर्न पाउनेछन’, वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्म कुमार भुषालले कर्पाेरेट नेपालसँग भने ।

Advertisement

Advertisement

Advertisement