मकवानपुरको बोटे बस्तीमा होमस्टे सञ्चालन गरिने

Advertisement

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका रमौली प्रतापपुरमा निर्माण गरिएको एकीकृत बोटे बस्तीलाई होमस्टे (घरबास)का रुपमा विकास गरिने भएको छ । मनहरी गाउँपालिकाको पहलमा प्रदेश सरकारको रु ५० लाख र गाउँपालिकाको रु २० लाख लगानी गरेर निर्माणाधीन बोटे बस्तीलाई गाउँपालिकाले नै होमस्टे निर्माण गरेर आर्थिक अवस्था सुधारका लागि काम गरिने जनाएको छ ।

रमौलीमा बोटे समुदायका लागि १४ वटा घर निर्माणाधीन रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । प्रतिघर निर्माणका लागि १० धुरका दरले जग्गा उपलब्ध गराएर निर्माणाधीन बोटे बस्तीमा हालसम्म पाँच घर निर्माण भइसकेको र अरु घरको निर्माणको काम भइरहेको अध्यक्ष उप्रेतीले बताए ।

लोपोन्मुख जातिका रुपमा परिचित बोटे समुदायको मुख्य पेशा माछा मारेर बेच्ने हो । मनहरी लगायतका खोलामा माछा मारेर खाने र बिक्री गर्ने काम गर्दै आएको बोटे समुदायलाई अब घरबास पर्यटनबाट आम्दानी नयाँ स्रोत हुने भएको छ ।

बोटे समुदायको एकीकृत बस्ती निर्माणका लागि गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा रु २० लाख र प्रदेश ३ सरकारले रु ५० लाख सहयोगपछि काम शुरु गरिएको अध्यक्ष उप्रेतीले बताए । पानी, बिजुली, शौचालय, सडकको सुविधासहित बोटेका लागि निर्माण गरिएको एकीकृत बस्तीमा एक घरमा तीन वटा कोठा निर्माण गरिनेछ ।

Advertisement

Advertisement

Advertisement