बायु सेवा निगम सुधार्न विज्ञको कार्यदल, खरेलको विकल्प खोजी सुरु

Advertisement

काठमाडौं । नेपाल बायुसेवा निगम सुधारका लागि कार्यदल गठन भएको छ । योगेश भट्टराईले पर्यटन मन्त्रालय सम्हालेपछि निगम सुधारका उपाय खोज्न विज्ञ कार्यदल गठन गरेका हुन् ।

पर्यटन मन्त्री भट्टराईले पूर्वसचिव सुशील घिमिरेको नेतृत्वमा बनाएको ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’मा सदस्यमा लेखा विज्ञ (चार्टर एकाउण्टेण्ट) सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल, क्याप्टेन सुधीरशम्शेर राई सदस्य र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव छन् । कार्यदललाई एक महिनाभित्र सुझाव पेश गर्नुपर्ने छ ।

निगमले खरिद गरेका वाइड बडी जहाजहरुको स्वामित्व नलिएको भन्दै कार्यकारी अध्यक्ष मदन खरेलको विकल्प समेत खोजी सुरु भएको छ । खरेललाई यतास्थितिमा राखेर कार्यदलमार्फत समस्या खोज्ने कुराले निगम थप समस्याग्रस्त बन्दै जाने र खरेलले चलखेल गर्ने मौका पाउने अवस्था रहेको भन्दै निगमकै आधिकारिक युनियनका एक पदाधिकारीले बताए ।

खरेलले लामो दूरीमा उडान भर्ने भनेर ऋण लिई खरिद गरिएका वाइडबडी जहाजदेखि आन्तरिक उडानका लागि भनेर ल्याइएका चिनियाँ जहाजहरु उडाउन आलटाल गर्दै आएका छन् । ती जहाजहरु उड्न नसक्दा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने किस्ता झण्डै चार अर्ब पुगेको छ । निगमको अवस्था दिनप्रतिदिन दयनीय हुँदै जाँदा कर्मचारीहरुमा पनि असन्तुष्टि बढ्दै गएको छ ।

यता पर्यटन व्यवसायीहरुले पनि निगम नेतृत्वले कमजोरीका कारण वाइडबडी जहाजहरु नउडाउँदा र नजिकिँदा भ्रमण २०२० का लागि थप न्यारोबडी जहाजहरु खरिद गर्ने यसअघिको योजनालाई पन्छाउने काम गरेको भन्दै विरोध जनाउँदै आएको छ । उनले निगम सुधारका लागि तत्कालै निर्णय नलिए संस्था धरासायी हुने अवस्था देख्दादेख्दै कार्यदल बनाउने, भोलि फेरि भ्याद थप गर्ने, प्रतिवेदन बुझेर थन्क्याउने काम हुने अनुमान गरे ।

यता मन्त्रालयले भने कार्यदलले निगमको समग्र सुधारका लागि अध्ययन गरेर सुझावसहितको प्रतिवेदन दिने भन्दै निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने तथा निगमको कानूनी, संस्थागत संगठनात्मक, व्यवस्थापकीय एवम् व्यावसायिक क्षमतामा रहेका समस्याको पहिचान तथा विश्लेषण गर्ने बताएको छ ।

Advertisement

Advertisement

Advertisement