दुई महत्वपूर्ण आयोजनाका लागि ‘एमसीसी’को घण्टी आउँदो असार १६ गतेबाट बज्न सुरु गर्ने

Advertisement

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को लगानीमा निर्माणको तयारी गरिएका राष्ट्रिय गौरवका दुई आयोजनाहरुको निर्माणको शुभारम्भ आउँदो बर्ष असार १६ गतेबाट सुरु हुने भएको छ ।

एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’को कार्यान्वयन ‘इन्ट्री इन्टु फोर्स’को मिति आउँदो बर्ष असार १६ अर्थात २०२० जुलाई ३० लाई तोकिएको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

एमसीसीले विश्वभर आफ्नो लगानीमा सञ्चालन हुने आयोजनामा लागू गर्ने नियमअनुसार काम सुरु भएको मितिले घटीको काउनडाउनअनुसार ठिक पाँच बर्षभित्र काम सम्पन्न गरिसकेको हुनुपर्नेछ । तोकिएको उक्त समयभित्र काम सम्पन्न नभए उसले बाँकी सबै पैसा अमेरिका नै लैजाने एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले बताए ।

निर्माण शुभारम्भको घण्टी बज्नुअघि नै बाताबरणीय अध्ययन, वन, जग्गा, इन्जिनियरिङ जस्ता विषयको अध्ययन सक्ने तयारी भइरहेको भन्दै उनले सबै तयारी सकिने कुराको अध्ययन गरेर नै असार १६ को समय तोकिएको बताए । एमसीसीको ५० मिलियन अमेरिकी डलर र नेपालको १३ मिलियन अमेरिकी डलर गरी ६३ मिलियन अमेरिकी डलर (६९ अर्ब ३० करोड) लगानीमा ४०० केभीको ३०० किलोमिटर लामो विद्युत प्रसारण आयोजना र तीनसय किलोमिटरभन्दा लामो रणनीतिक सडक मर्मत आयोजना सुरु गर्ने तयारी गरिएको छ ।

‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’अन्तर्गत आयोजना सफलतापूर्वक सम्पन्न गर्न आवश्यक शर्तहरु कम्प्याक्टको कार्यान्वयनअघि नै कार्यान्वयन गरिसक्नुपर्ने भएकाले उक्त सम्झौता संसदबाट पास गर्न तयारी भइरहेको विष्टले बताए । यो सम्वन्धी पाँचसय पृष्टको दस्तावेज नेपालीमा रुपान्तरण गरी संसदमा पेश भइरहेको छ । कम्याक्ट सम्झौताको संसदीय अनुमोदनबाहेक विद्युत प्रसारण आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुपर्ने र विद्युत नियमन आयोग गठन गर्नुपर्ने शर्त पूरा भइसकेको छ ।

त्यस्तै, आयोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने, नेपालको बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारणलाइन निर्माणका लागि भारतीय पक्षको सहमतिमा योजना तर्जुमा, बाताबरणीय मूल्यांकनको स्वीकृति तथा जग्गा अधिग्रहण एवं रुख कटानीसहित आयोजना निर्माण क्षेत्रमा पहुँच हुनुपर्ने शर्तहरु कार्यान्वयन हुन बाँकी छ ।

Advertisement

Advertisement

Advertisement