पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक दुई वर्षमा १२ प्रतिशत मात्र निर्माण

Advertisement

भक्तपुर । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तार दुई वर्षमा जम्मा १२ प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीको अवरोध र सडकमा रहेका संरचना नहट्दा सो सडकमा भैतिक प्रगति कम भएको हो ।

भक्तपुरको पुरानो बाटो भनिने सो सडकमा चिह्न लगाएर मापदण्डअनुसार सडक खाली गर्ने काम काठमाडौँ उपत्यका विकास प्राधिकरण र सडक निर्माणको जिम्मेवारी काठमाडौँ सडक विस्तार आयोजनाको हो । स्थानीयवासीले घर र जग्गा दुवैको मुआब्जा मागेर अवरोध गरिरहेकाले प्राधिकरणले सडक खाली गराउन नसकेको आयोजनाले जनाएको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।

उनले भने, सडक खाली गर्ने वा सरकारले अर्को निर्णय गरेर यसरी अघि बढ्ने नभनेसम्म निर्माणको काम अघि बढ्न सक्दैन । यस सडकमा बाहखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने भए पनि स्थानीयवासीको अवरोध रहेको बताइएको छ । स्थानीयवासीले घरको मात्रै नभएर जग्गाको समेत मुआब्जा माग गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । उनले भने, जग्गाको मुआब्जा दिने सरकारको व्यवस्था नहुँदा काम अघि बढ्न सकेको छैन ।

चार दशमलव पाँच किलोमिटर लम्बाइको यो सडकको ठेक्का सम्झौता २०७४ असारमा भएको थियो । सडकको ठेक्का सम्झौता अवधि आगामी पुसमा सकिँदैछ । यो सडक निर्माणको ठेक्का कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभीले लिएको थियो ।

Advertisement

Advertisement

Advertisement