किसानको बैंकमा 'अनिलको अथक प्रयास':- कृषिलाई नछोड्ने, अरुलाई जोड्ने

Advertisement

काठमाडौं । किसानको बैंक अर्थात कृषि विकास बैंक, झट्ट सुन्दा किसानलाई मात्रै लगानी गर्ने बैंक जस्तो लाग्छ । हुन पनि वि.सं. २०२४ साल माघ ७ गते सरकारले किसानलाई लगानी गर्नकै लागि भनेर यो बैंक स्थापना गरेको थियो ।

समय बदलियो, सरकारहरु बदलिए र किसानको बैंकले पनि सबैको बैंक बन्ने बाटो समात्यो । ‘किसानका लागि भनेर स्थापना भएको बैंक समयसँगै सबैको बन्ने सोँचमा अघि बढ्यो यद्यपी यसले किसान प्रतिको आफ्नो दायित्व भने बिर्सेको छैन, हामी किसानको साथमै रहेर अरुलाई पनि समेट्ने जिम्मेवारी पुरा गरिरहेका छौं’, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय भन्छन् ।

५१ प्रतिशत सरकारी लगानी रहेको बैंक यतिबेला हरेक परिसूचकमा निजी बैंकहरुसँग प्रतिष्पर्धा गरिरहेको छ । त्यसको एउटा गतिलो उदाहरण हो, गत आर्थिक वर्षमा यसले गरेको नाफा । बैंकले आफ्नो नाफा १९.१७ प्रतिशतले वृद्धि गर्दै ४३५ करोड पुर्याएको छ । नाफाको यो आँकडा धेरै कमाउने बैंकहरुको सूचिमा उपल्लोस्तरमै पर्छ । बैंकले एक वर्षको अवधीमा आफ्नो नाफा ३६५ करोडबाट ७० करोड वृद्धि गरेर ४३५ करोड पुर्याउन सफल भयो, जुन आफैंमा ठुलो उपलब्धि हो । बैंकले पछिल्लो ३ महिनामै २ अर्ब १४ करोड नाफा आर्जन गर्न सफल भएको छ ।

कृषि विकास बैंकको वितरण योग्य मुनाफा नै ३ अर्ब ३१ करोड रुपैंयाँ छ । १४ अर्ब ४४ करोड रुपैंयाँ चुक्ता पुँजी भएको बैंकले आफ्ना लगानीकर्तालाई २२ प्रतिशत नगद लाभांश दिन सक्छ । बैंकको अर्काे सबल पक्ष भनेको जगेडा कोष पनि हो, जहाँ १० अर्ब ४० करोड रुपैंयाँ रहेको छ । १ खर्ब १९ अर्ब निक्षेप संकलन गरेको बैंकले १ खर्ब ११ अर्ब कर्जा तथा लगानी गरेको छ भने सीडी रेसियो ७८.७२ प्रतिशत कायम गरेको छ ।

१०.५८ प्रतिशत आधार ब्याजदर रहेको बैंकको कस्ट अफ फण्ड ७.७१ प्रतिशत छ । कृषि विकास बैंकको स्प्रेड दर भने ४.६८ प्रतिशत छ । ४४.६७ रुपैंयाँ प्रति सेयर आम्दानी भएको बैंकको मूल्य आम्दानी अनुपात ९.१८ रहेको छ ।

काठमाडौंदेखि कुशेसम्म
नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुर्याउने सरकारी नीति अनुसार कृषि विकास बैंकलाई १७ वटा स्थानीय तहको सूची थमायो । तिमध्ये अधिकांश विकट थिए जहाँ अरु बैंकले जान अस्विर गरेका थिए । राष्ट्र बैंकले जाजरकोटको कुशेसहित ३ वटा गाउँपालिका र कालिकोटका महाबै गाउँपलिकासहित ३ वटा स्थानीय तहमा जिम्मा दिएको थियो, जुन असाध्यै विकटमा पर्छन् । यद्यपी कृषि विकास बैंकले ति सबै स्थानीय तहमा शाखा स्थापना गरेर सेवा आरम्भ गरिसकेको छ ।

अब्बल प्रविधिः दक्ष जनशक्ति
नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंकहरुका लागि फिन्टेक प्रविधि अनिवार्य भएको बताउँदै आएका छन् । गभर्नरले फिन्टेक जस्तो आधुनिक प्रविधि भित्र्याएर नेपालको बैंकिङ क्षेत्रलाई उच्चतम प्रविधि मैत्री बनाउनु पर्ने बताईरहेका छन् । फिन्टेकको खर्च धान्नकै लागि पनि बैंकहरुलाई मर्जरको बाटोमा अघि बढाउनुपर्ने गभर्नरको तर्क थियो ।

तर कृषि विकास बैंकले यस अघि नै विश्वस्तरिय र अत्याधुनिक मानिएको फिन्टेक प्रविधि भित्र्याईसकेको छ । ‘नेपालमा भर्खर फिन्टेकको अपरिहार्यता बुझ्न थालिएको छ, गभर्नर सा’बका भाषणमा फिन्टेक आईरहको छ, तर हामीले यस अघि नै फिन्टेक सफ्टवेयरबाटै काम गरिरहेका छौं’, प्रमुख कार्यकारी अधिकृत उपाध्यायले सगौरव सुनाए ।

यति मात्रै होइन बैंकसँग आफ्नै तालिम केन्द्र समेत छ । नेपालकै वित्तिय क्षेत्रमा पूर्वाधार सम्पन्न तालिम केन्द्र नभएको अवस्था छ । तर बैंकले बर्षाै पहिलेदेखि भक्तपुरमा अत्याधुनिक पूर्वाधारयुक्त तालिम केन्द्र सञ्चालन गरिरहेको छ । त्यहि तालिम केन्द्रमा लागेर आफ्ना कर्मचारीलाई आधुनिक बैंकिङ प्रणाली, वित्तिय सुशासन, व्यापार प्रवद्र्धन, चुस्त दुरुस्त सेवा प्रवाह लगायतका आवश्यक तालिम दिँदै आएको छ ।
‘नेपालको समग्र वित्तिय क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्ने पूर्वाधारसहितको तालिमक केन्द्र छ, अहिले हामीले मात्रै उपयोग गरिरहेका छौं, एउटा मोडल बनाएर त्यसलाई समग्र वित्तिय क्षेत्रकै तालिम केन्द्रका रुपमा विकास गर्न सकिन्छ’, सिईओ उपाध्यायले भने । उनले यसबारे नेपाल राष्ट्र बैंक र बैंकर्स संघमा पनि छलफल गरिसकेका छन् ।

किसानलाई नछोडेको प्रमाण
बैंकले आफ्नो मुल जिम्मेवारी अर्थात किसानलाई बिशेष ग्राह्यता दिएको छ भन्ने प्रमाण हो यसले प्रवाह गरेको कर्जा । बैंकबाट ५९ हजार ८ सय ५० जना कृषकले ३० अर्ब २० करोड ७४ लाख ३० हजार रुपैंयाँ कर्जा सुविधा पाएका छन् । यो आँकडा अरु कुनै पनि बाणिज्य बैंकको भन्दा बढि हो ।

त्यति मात्रै होइन, नेपाल राष्ट्र बैंकले तोकिदिएको प्राथमिकता क्षेत्रको कर्जामा पनि बैंकले निकै राम्रो लगानी गरेको छ । राष्ट्र बैंकले कुल लगानीको २५ प्रतिशत रकम कृषि, उर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । अधिकांश बाणिज्य बैंकहरुले त्यस्तो नियमानुसार कर्जा प्रवाह गरेका छैनन् । तर कृषि विकास बैंकले आफ्नो कुल लगानीको २५ प्रतिशत मात्रै होइन, ३० प्रतिशत लगानी गरेको छ । ‘बैंकहरुलाई २५ प्रतिशत लगानी कसरी देखाउने भन्ने चिन्ता छ, हामी आफैंले ३० प्रतिशत भन्दा बढी लगानी कृषि, उर्जा, पर्यटन लगानयतका क्षेत्रमा गरिसकेको छौं’, सिईओ उपाध्यायले भने ।

किसानलाई नछाड्नेः अरुलाई जोड्ने
सिइओ उपाध्यायले किसानलाई नछोडी बाँकी सबै क्षेत्रलाई जोड्दै जाने प्रतिज्ञा सुनाए । ‘बैंकको जन्म नै नेपाली किसानका लागि सघाउने उदेश्यले भएको हो, यो हाम्रो पहिलो जिम्मेवारी हो, बाणिज्य बैंकका रुपमा हामी अरु क्षेत्रलाई पनि जोड्दै लैजान्छौं’, सिइओ उपाध्याय भने अगाडी थपे ।

बैंक यतिबेला हरेक हिसाबले अब्बल बन्दै गएको उनी सुनाउँछन् । ‘हाम्रो ऋण पनि छरिएको छ र निक्षेप संकलनको आधार पनि फराकिलो छ, दुई चार वटा ऋणी वा निक्षेप कर्ताका कारण हाम्रो बैंकमा कुनै समस्या आउँदैन’, उनले भने । शहरदेखि गाउँसम्म छरिएर बसेका निक्षेपकर्ताको स सानो रकम संकलन गरिएको र त्यसरी नै फराकिलो दायरा बनाएर सुरक्षित ढंगले ऋण प्रवाह भैरहेको उनी बताउँछन् ।

Advertisement

Advertisement

Advertisement