प्रदेश नम्बर ३ मा मासु र दूध उत्पादन बढ्यो

Advertisement

काठमाडौं । प्रदेश नं ३ ले मासु र दूध उत्पादनमा उल्लेख्य प्रगति गरेको छ । प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो ।

आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा दूध र मासु उत्पादनको दर निकै बढेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५/७६ मा प्रदेश नं ३ मा करीब साढे पाँच लाख मेट्रिक टन दूध उत्पादन भएको तथ्याङ्क छ ।

निर्देशनालयका अनुसार आव २०७४/७५ को तुलनामा दूध उत्पादनमा ५१ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ । आव २०७४/७५ मा तीन लाख ५७ हजार ९३८ मेट्रिक टन दूध उत्पादन भएकामा आव २०७५/७६ मा उत्पादन बढेर पाँच लाख ४१ हजार ५३२ मेट्रिक टन पुगेको थियो ।

प्रदेशका १३ जिल्लामध्ये काभ्रेपलान्चोकमा सबैभन्दा बढी दूध उत्पादन भएको सो तथ्याङ्कले देखाएको छ । काभ्रेमा एक वर्षमा करीब एक लाख २५ हजार मेट्रिक टन दूध उत्पादन भएको छ । काभ्रेपछि सबैभन्दा बढी दूध उत्पादन हुने जिल्लामा चितवन रहेको छ । चितवनमा पनि करीब ९५ हजार मेट्रिक टन वार्षिक दूध उत्पादन भएको निर्देशनालयका निमित्त निर्देशक समगोपाल आचार्यले जानकारी दिए । काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक र मकवानपुरमा पनि दूध उत्पादनको अवस्था सन्तोषजनक रहेको आचार्यको भनाइ छ ।

त्यसैगरी प्रदेशमा मासु उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको छ । आव २०७५र७६ मा प्रदेशमा मासु उत्पादन ३५ दशमलव १६५ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । प्रदेशका १३ जिल्लामा गतवर्ष एक लाख एक हजार ३८२ मेट्रिक टन मासु उत्पादन भएको थियो ।

आव २०७४/७५ मा ७५ हजार मेट्रिक टन मात्र मासु उत्पादन भएको थियो । सबैभन्दा बढी मासु उत्पादन गर्ने जिल्ला चितवन हो । चितवनमा वार्षिक करीब २० हजार मेट्रिक टन मासु उत्पादन भएको थियो । त्यस्तै मकवानपुर, नुवाकोट र काठमाडौंमा करीब १५/१५ हजार मेट्रिक टन मासु उत्पादन भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । काभ्रे, धादिङ, सिन्धुपाल्चोक, सिन्धुलीलगायतका जिल्लाको मासु उत्पादनको वृद्धिदर पनि सन्तोषजनक रहेको छ ।

प्रदेशमा अण्डा उत्पादनमा भने गिरावट आएको निर्देशनालयका निमित्त निर्देशक आचार्यले बताए । आव २०७४/७५ मा प्रदेशमा सात लाख २२ हजार अण्डा उत्पादन भएकामा एक वर्षपछि आव २०७५/७६ मा २६ दशमलव ३३ प्रतिशतले घटेर चार लाख ५९ हजारमा झरेको छ । अण्डा उत्पादनको करीब ७० प्रतिशत हिस्सा चितवनले ओगटेको छ । चितवनमा गत वर्ष दुई लाख ८२ हजार अण्डा उत्पादन भएका थिए । काठमाडौं, भक्तपुर र मकवानपुर पनि अण्डा उत्पादनमा अन्य जिल्लाभन्दा अगाडि नै छ ।

प्रदेश सरकारले आगामी तीन वर्षभित्र फलफूल, तरकारी, पुष्प, मह, च्याउ, माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भरहुने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पाँच वर्र्षिभत्र खाद्यान्नमा पनि आत्मनिर्भर हुने उल्लेख गरिएको छ । प्रदेश सरकारले चालू आवमा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई रु चार अर्ब ९२ करोड ८८ लाख ४४ हजार अर्थात दश दशमलव ३५ प्रतिशत बजेट छुट्याइएको छ ।

भूमिको चक्लाबन्दी गरी विशिष्टिकृत उत्पादन क्षेत्र निर्धारण गर्न भन्दै प्रत्येक निर्वाचन क्षेत्रमा एक÷एकवटा नमूना कृषि फार्म बनाउने योजना अघि सारिएको छ । प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा नमूना कृषि फार्म बनाउन रु २० करोड छु्ट्याइएको छ । दूध उत्पादनलाई बढवा दिन प्रतिलिटर दूधमा रु एकका दरले प्रदेश सरकारले अनुदान दिने घोषणा गरेको छ । कुनै सहकारी वा निजी दुग्ध संस्थामा दूध बिक्री गरेबापत किसानले प्रतिलिटर रु एकका दरले किसानले अनुदान पाउनेछन् । दूधमा अनुदानका लागि मात्र सरकारले रु १२ करोड छुट्याएको छ ।

Advertisement

Advertisement

Advertisement