लियोनल मेस्सीले लिगको पहिलो खेल गुमाउन सक्ने संकेत

Advertisement

काठमाडौं । बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ला लिगा फुटबलको पहिलो खेल गुमाउन सक्ने भएका छन् । बार्सिलोनाको प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले मेस्सी लिगको पहिलो खेलमा उपलब्ध हुन निकै कठिन हुने बताएका छन् । बार्सिलोनाले आगामी शुक्रबार एथ्लेटिको बिल्बाओसंग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

पिँडुलाको चोटका कारण मेस्सीले अमेरिकाको भ्रमण गुमाएका थिए । नापोलीविरुद्व प्रि सिजनको दोस्रो खेलमा बार्सिलोनाले ४–० को प्रभावशाली जित निकालेको थियो ।

खेलमा यसै सिजन बार्सिलोना आएका एन्टोनी ग्रिजम्यानले क्लबका लागि पहिलो गोल गरेका थिए । लुईस स्वारेजले दुई गोल गरेका खेलमा उसमान डेम्बेलेले एक गोल गरेका थिए ।

‘उनी निको हुने चरणमा छन् । उनी नयाँ सिजनको सुरुवातमा तयार हुने बिषय मलाई थाहा छैन ।’ नापोलीविरुद्वको जितपछि प्रशिक्षक भाल्भर्डेले भने । ‘यो निकै कठिन देखिन्छ ।’ उनले थपे ।

सोही कारण मेस्सीले एथ्लेटिकविरुद्वको खेल गुमाउने सम्भावना बढी छ । तर उनी रियल वेटिसविरुद्वको खेलमा उत्रदै नयाँ सिजनको लिगमा ‘डेब्यु’ गर्नेछन् ।

ग्रिजम्यानको बिषयमा भल्भर्डेले भने, ‘उनीसंग सुरुमै गोल गर्ने पर्याप्त अवसर थियो । सबै फरवार्डले गोल गर्न सके । म यसैमा खुसी छु । गोल गर्ने फरवार्डमा ग्रिजम्यान समेत थिए । समग्रमा उनले खेलमा धेरै आक्रमण गरेका थिए ।’

गत सिजन मेस्सीले बार्सिलोनाबाट उत्कृष्ट फर्मलाई निरन्तरता दिदै ५५ गोल गरेका थिए । उनले लगातार दोस्रो पटक बार्सिलोनालाई स्पेनिस लिगको उपाधि जिताएका थिए ।

तर बार्सिलोना कोपा डेल रेमा भ्यालेन्सियासंग पराजित भएको थियो । च्याम्पियन्स लिगको सेमिफाईनलमा भने उसले लिभरपुललाई नतिजा सुम्पिएको थियो ।

Advertisement

Advertisement

Advertisement