नेपालका कर्मचारीलाई कवाडी र भ्रष्ट बनाउने नै दलका नेताहरु हुनः पूर्वसचिव उपाध्याय

bhim-upadhayay

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायले निजामती सेवामा कर्मचारीहरुको ट्रेड युनियनको व्यवस्थाको विरोध गरेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले जुनसुकै व्यवस्थामा पनि आफू यस कुराको विरोधी भएको भन्दै भनेका छन्, ‘कर्मचारीतन्त्र भनेको नै यथार्थमा सरकार हो। सरकारसँग सेवाग्राहीले माग राख्ने हो। सरकार नै हडताल बिरोधमा उत्रने हैन ।’

निजामती कर्मचारीहरुको आधिकारिक युनियनबाहेक दलनिकट युनियन राख्न नपाउने कानुनी व्यवस्थापछि विभिन्न दलसम्वद्ध युनियनहरुले विरोध जनाइरहेको बेला उपाध्यायले राजनीतिक दलहरूले र राजनीतिक दलका सरकारहरूले ट्रेड युनियन बनाएर, कर्मचारीहरुलाई उचालेर बिगतमा ठूलो मूर्खता गर्दै आएको बताए । फलस्वरूप अहिले राजनीतिक सरकारलाई कर्मचारी युनियन भालुको कन्पारो हुन पुगेको उनको भनाई छ ।

तर, आफूलाई अहिलेका मूर्ख राजनीतिक नेताहरूको ताल हेर्दा व्यवहारमा कर्मचारी युनियन अहिले झन् आवश्यक जस्तो महसुस हुन थालेको भन्दै उपाध्यायले नेपालमा अहिलेसम्मको अनुभवले हेर्दा राजनीतिलाई कोही न कोही बिरोधी पात्र खडा हुनैपर्ने देखिदै आएको बताएका छन् । उनी भन्छन्, ‘त्यसो भएन भने तिनलाई न खाएको पच्छ, न निद्रा लाग्छ, न खान रूची हुँदो रहेछ ।’

नेपालका राजनीतिमा हालसम्म पञ्चायती व्यवस्थाका नेताहरूलाई राणाहरू र तिनका शासनको बिरोध गर्न, प्रजातान्त्रिक नेताहरूलाई पञ्चायतको बिरोध गर्न, बहुदलीय नेताहरूलाई राजाको बिरोध गर्न, लोकतान्त्रिक गणतान्त्रिक नेताहरूलाई राजतन्त्र र राजाको बिरोध गर्न, बिपक्षीलाई सत्ताधारीको बिरोध गर्न, सत्ताधारीलाई बिपक्षको बिरोध गर्न, कसैलाई ज्ञानेन्द्रको बिरोध गर्न, कसैलाई महेन्द्रको बिरोध गर्न, कसैलाई प्रचण्डको बिरोध गर्न, कसैलाई ओलीको बिरोध गर्न, कसैलाई पहाडियाको बिरोध गर्न, कसैलाई बाहुनक्षत्रीको बिरोध गर्न, कसैलाई हिन्दू धर्म र संस्कृतिको बिरोध गर्न पात्रहरू चाहिरहेको पाईन्छन् भन्दै उनले
कसैलाई भारतको बिरोध गर्न, कसैलाई चीनको बिरोध गर्न, कसैलाई अमेरिका तथा युरोपीय मुलुकको बिरोध गर्ने रोजगारी पनि पाएको देखिने गरेको उल्लेख गरेका छन् ।

सचिव उपाध्यायले अहिले भने सत्ताधारी नेताहरूलाई आफ्ना मानषपुत्र कर्मचारीको बिरोध गर्ने घोर मागीखाने महामारी रोग सल्केको देखिन्छ भन्दै यो रोग लागेमा आफैले जन्माएको बच्चाले कि आमालाई खाईदिन्छ कि आमाले बच्चा खाईदिन्छ भनेका छन् ।

नेपालको कर्मचारीलाई यस्तो कबाडी र भ्रष्ट अवस्थामा पुर्याउने वा बनाउने यिनै दलहरू र नेताहरू हुन् भन्दै उनले तिनले नै बिगत ३ दशकदेखि ‘दे दनादन’ गरेर कर्मचारीको हु्र्मत लिँदै हस हजुर, हुन्छ हजुर, भ्रष्ट र अनैतिक बनाउदै आएका हुन्। अझै ती नेताहरूको होस आएको त हैन भन्दै उपाध्याय भन्छन्, ‘तर माईखाने रोगले ग्रस्त भएर रूवाबासी गरिरहेका छन् । तिनका साईकलबाजी कसले बुझेको छैन र ?’

त्यसैले यी माईखाने लोभी भ्रष्ट नेताहरूबाट कर्मचारीहरू जोगिन पनि अहिले ट्रेड युनियनको खॉचो झन् टड्कारो भएको हो कि भन्ने आफूलाई लागेको भन्दै उनले अहिले कुनै पनि नेताहरूको होश ठेगानमा नदेखिएको र यसमा कथित क्रान्तिकारीहरू झन् अग्रणी देखिन्छन् भनेका छन् । भएको यही एक स्थीर कर्मचारीतन्त्र मास्न पाए नाङ्गै नाच नाच्न पाईन्थ्यो कि ? भन्ने चाहनामा चलेका भँडुवा नेताहरूको चालामाला देशको अस्तित्वका लागि ठिक देखिदैन भन्दै उपाध्यायले ट्रेड युनियनले संतुलन र नियन्त्रणको दह्रो भूमिका खेल्नुपर्ने ऐतिहासिक काल सिर्जित भएको देखिएको बताएका छन् ।

त्यस्तै, पूर्वसचिव उपाध्यायले सरकारको जिम्मेदार पदमा पुग्नेहरूलाई भ्रष्ट बन्न बाध्य हुने वातावरण बनाउने, भ्रष्टाचार नगरी कुनै काम पनि डेग नचल्ने, त्यस्ता वातावरण सुधार्न र भ्रष्ट क्रियाकलाप रोक्न कुनै पहल नगर्ने, नजराना वा घूस नदिँदासम्म शासन–प्रशासनको इन्जिनमा अनावश्यक घर्षण तथा ब्रेकडाउन हुने, कुनै काम गर्ने अधिकारीलाई एकल अधिकार नदिने, अधिकार विकेन्द्रीकरण र सामूहिक निर्णयका नाममा नानाभॉती निकायहरूका, बिना कामका असम्बन्धित, कार्यसम्पादनको जिम्मेवारीबहन गर्न नपर्ने, गैरजिम्मेदार, अनुत्तरदायी प्रतिनिधिहरू समावेश गरेर समितिहरू बनाउने, हाकिमले कार्यालयको निर्णय लिन पनि अन्य १० ठॉउको परामर्श वा पूर्व सहमति लिनुपर्ने प्रशासन ब्यवस्था स्थापित गरेर, फाईदा नलिई कुनै लोभ वा प्रलोभन नदेखाई, कुनै काममा पनि कसैबाट काम गर्न सहमति नपाइने, तर काम नभएकोमा अमुक कुनै एक अधिकारीलाई मात्र धारेहात लगाउने, तथानाम गाली गर्ने, त्यो भ्रष्ट हो भन्ने अबुझ तथा गैरजिम्मेवार नेपाली समाजमा भ्रष्टाचारको समस्या समाधानमा सिन्को पनि भॉचिदैन भनेका छन् ।

उनले यो कटुसत्य बुझेर कुनै ठोस आमूल परिवर्तनको पहल नहुँदासम्म एकले अर्कालाई तँ भ्रष्ट भन्दैमा नेपालीको यो जुग कट्ने छ भनेका छन् । जुन समाजमा शासन–प्रशासनको मासिनमा घूस नै लुब्रिक्यान्ट बनिसेकेको हुन्छ, त्यहॉ बिनालुब्रिक्यान्ट मेशिन चलाउछु भन्ने दुस्साहस गर्न इन्द्रको बाउ चन्द आए पनि लछारपाटो लगाउन सक्ने छैन भन्दै उपाध्यायले भ्रष्टाचारको गम्भीर समस्या नै बुझ्न नचाहने नेपाली समाजमा यसको समाधान हुने आश कसरी गर्न सकिएला र ? भनेका छन् । यो समस्या नबुृझ्दासम्म ‘तँ भ्रष्ट, उ महाभ्रष्ट, उ झन् भ्रष्ट, को भन्दा को बढी भ्रष्ट, सबै भ्रष्ट’ भनेरै दिन कटाउनुको बिकल्प नहुने उनको तर्क छ ।