विराट कोहली चम्कँदा वेस्टइण्डिज विरुद्धको खेलमा भारतलाई अग्रता

Advertisement

काठमाडौं । घरेलु टोली वेष्ट इण्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारतले जित निकालेको छ । आइतबार राति भएको खेलमा भारतले वेष्ट इण्डिजलाई डिएल पद्दतिको आधारमा ५९ रनले पराजित गरेको हो ।

सिरिजको छिनोफानो भने तेस्रो तथा अन्तिम एक दिवसीयबाट हुने छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २७९ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले १२० रनको शतकीय इनिङ्स खेले ।

वर्षाले प्रभावित गरेपछि ४६ ओभरमा झारिएको खेलमा वेष्ट इण्डिजले जितका लागि २७० रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज ४२ ओभरमा अलआउट हुँदै २१० रनमा समेटियो ।

वेष्ट इण्डिजका इभान लेविसले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै निकोलस पुरनले ४२ रन जोड्दा रास्टोन र हिटमायरले समान १८/१८ रन जोडे । वेष्ट इण्डिजका लागि कीर्तिमानी ३ सय एकदिवसीय खेलेका क्रिस गेल ११ रनमा आउट भए । वेष्ट इण्डिजलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए । यस्तै मोहमद शामी र कुलदिप यादवले २र२ विकेट लिए ।

शतकसँगै कोहली एकै विपक्षि टिमविरुद्ध ८ भन्दा बढी शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । यस्तै कोहली एकै विपक्षि टिमविरुद्ध कम इनिङ्समा २ हजार रन पुरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । वेष्ट इण्डिजविरुद्ध ३४ इनिङ्समा २ हजार रन पुरा गरेका कोहलीले रोहित शर्माले अष्ट्रेलियाविरुद्ध ३७ खेलमा बानाएको कीर्तिमान तोडेका हुन् ।

त्यस्तै भारतका लागि श्रेयस आयरले ७१ रनको अर्धशतकीय इनिङ्स खेल्दा रिशब पन्तले २० तथा रोहित शर्माले १८ रन बनाए । वेष्ट इण्डिजका लागि कार्लोस ब्रैथवेटले ३ विकेट लिए ।

यो जितसँगै भारतले ३ खेलको सिरिजमा १/० ले अग्रता बनाएको छ । दुईबीचको पहिलो खेल नतिजाविहीन सकिएको थियो ।

Advertisement

Advertisement

Advertisement