प्रदेशको अधिकारमाथि कुठाराघात गरेको होइनः मन्त्री पण्डित

Advertisement

काठमाडौं । प्रदेश मन्त्रालयमा सचिव सङ्घबाट खटाउने कि प्रदेश निजामती सेवाको हुने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदबीच नै मत बाझिएको छ । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिमा भइरहेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी छलफलमा प्रदेश मन्त्रालयको प्रमुख सचिव र सचिव सङ्घबाट खटाउने गरी सरकारले गरेको प्रस्तावमा नेकपाका सांसद दुई धारमा विभाजित भए ।

बैठकमा सांसद यशोदा सुवेदी रेखा शर्मा महेश्वरजङ्ग गहतराज पम्फा भुसालले यो विधेयक विगतको कर्मचारी समायोजन ऐन विपरीत भएको जनाउँदै केन्द्रबाट र प्रदेशबीच सङ्घबाट सचिव खटाउँदा मात्र समन्वय र सम्पर्क कायम हुन्छ भन्ने मतसँग सहमत हुन नसकिने धारणा राखे । प्रदेशलाई अधिकार दिने हो भने केन्द्रबाट कर्मचारी लाद्न हुँदैन भन्दै उनीहरुले प्रदेश निजामती सेवाकै कर्मचारी तत् प्रदेशको सचिव राख्नै पर्ने ढङ्गबाट विधेयक परिमार्जन र पुनःलेखन गरेर ल्याउन मन्त्रालयलाई सुझाव दिए ।

सांसदहरु नवराज सिलवाल, रामकुमारी झाँक्री, झपटबहादुर रावललगायतले प्रदेश आफैं सक्षम भएपछि थप अधिकार प्रदान गर्ने गरी अहिलेलाई केन्द्र र प्रदेशबीच समन्वय तथा सम्पर्क सहज तुल्याउन सङ्घबाटै प्रदेश सचिव खटाउने प्रावधानसहित सरकारले ल्याएको विधेयकलाई समर्थन गरेर जानको विकल्प नरहेको धारणा राखे । सङ्घबाट खटाइएको सचिव प्रदेश सरकार मातहत रहने र कार्यमूल्याङ्कन त्यही हुने भएकाले प्रदेश कानून नबनाउन्जेल मात्रै खटाउने भन्ने विषयलाई संविधान र सङ्घीयता विपरीतको भावनाका रुपमा तर्क गर्न नहुने उनीहरुको तर्क थियो । हाम्रो सङ्घीयताको ढाँचा भनेको स्वायत्त र स्वतन्त्र नभई तहगत अन्तर सम्बन्ध रहेको बताउँदै उनीहरुले सरकारले ल्याएको विधेयक ठीक छ भनी बचाउ गरे ।

बैठकमा सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानको भावना र अहिलेको आवश्यकताबीच तालमेल हुने गरी प्रदेशको प्रमुख सचिव र सचिव सङ्घीय पद हुने प्रावधान राखेर विधेयक ल्याएको स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement