संसद बैठकमा मन्त्री यादवमाथि प्रश्नैप्रश्न

Advertisement

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग मन्त्रालयका कामकारवाहीसम्बन्धी विभिन्न प्रश्न गरेका छन् । बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले गुणस्तरीय खाद्य वस्तु खान पाउने संवैधानिक अधिकारअनुसार नै मन्त्रालयले बजारमा अनुगमन बढाएको बताउँदै अनियमितता र गलत गर्नेलाई कारवाही गरिएको जानकारी गराए ।

जनतालाई अखाद्य होइन खाद्य पदार्थ नै खुवाउने मन्त्रालयको योजना सुनाउँदै उनले चाडबाडमा मात्र नभइ निरन्तरता दिने उद्देश्यले अनुगमन गर्ने योजना बनाइएको बताए । बैठकमा सांसद उमा रेग्मीले खाद्य पदार्थमा अखाद्य पदार्थको मिसावट बढेको र उपभोक्ताले शुद्ध खानेकुरा नपाईरहेको अवस्थामा मन्त्रालयले के कदम चालिरहेको छ भनी प्रश्न गरेका थियो ।

सांसदद्वय डा डिला सङ्ग्रौला र रङ्गमती शाहीले पूरक प्रश्न गर्दै अनुगमनले काम नगरेको र कालाबजारी नियन्त्रण गर्न अझ कडा कदम चाल्नुपर्नेमा जोड दिए । जवाफमा मन्त्री यादवले कालाबजारी नियन्त्रण गर्न योजना मात्र नभइ काम पनि गरेको र अनुगमन गरी कारवाहीसमेत गरिएको बताए ।

सांसद सङ्ग्रौलाले सरकारले २०७५ को नीति तथा कार्यक्रममा विद्यालय, विश्वविद्यालय, अस्पताल, विमानस्थल, पार्क र सार्वजनिक सेवाबाट प्रदान गर्ने सेवामा नेपालमा गुणस्तर लागू गर्ने भनिएको र त्यो कार्यक्रम कहाँ पुग्यो भनी प्रश्न गरे ।

जवाफमा मन्त्री यादवले गुणस्तरका लागि प्राविधिक टोली गठन गरिसकिएको र कार्यान्वयनको चरणमा रहेको मन्त्री यादवले भने । साथै उनले विगतदेखि बिग्रेका भत्केका सबैमा सुधार गर्दै अघि बढेकाले सबै एकैचोटी नहुने उल्लेख गरे । सांसद रामबहादुर विष्टले अछामको विनायक नगरपालिकामा पाइने अति मूल्यवान पत्थर काइनेटको चोरी निकासी रोकथाम गर्न सरकारले के योजना बनाएको छ भनी प्रश्न गरेका थियो ।

उक्त प्रश्नमाथि सांसदद्वय दिलेन्द्रप्रसाद बडू र प्रेम सुवालले मूल्यवान पत्थर काइनेटको चोरी निकासी नियन्त्रण हुन नसकेको भन्दै पूरक प्रश्न गरे थियो । जवाफमा मन्त्री यादवले यस वर्षको नीति तथा कार्यक्रममा अध्ययन र उत्खननका लागि प्रक्रिया अघि बढाइएको बताउँदै बहुमूल्य पत्थरको उत्पादन र प्रशोधन गरी निकासीसमेत गरिने जानकारी गराए । चोरी निकासीका लागि सबै उपाय अवलम्बन गरिएको उनको भनाइ थियो ।

सांसद पुष्पा भुसालले नेपालमा आयात हुने तरकारी तथा फलफूलमा ८० प्रतिशतभन्दा बढी विषादी पाइएको र ४५ प्रतिशतभन्दा बढी विषादी भएको खाद्यान्नलाई प्रयोग नगरी नष्ट गर्नुपर्नेमा जोड दिए । जवाफमा मन्त्री यादवले तरकारीमा विषादी परीक्षणलाई कडाइ गरिएकाले मुलुक बाहिरबाट ल्याइने मात्र होइन मुलुकभित्रै उत्पादन भएको तरकारीमा पनि विषादी भेटिन सकिने हुनाले परीक्षणलाई निरन्तरता दिइने बताए ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँगका प्रश्नकर्ता सांसद महेन्द्रराय यादव उपस्थित नभएपछि सो मन्त्रालयसँग सम्बन्धित आजका लागि तय गरिएको प्रश्नोत्तरको सूची हुन सकेन ।

Advertisement

Advertisement

Advertisement