कृषिमन्त्रीले कृषि उद्यमको अनुगमन

Advertisement

हेटौँडा । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले बुधबार प्रदेश सरकारको अनुदानमा हेटौँडा उपमहानगरपालिका–१२ र १३ मा सञ्चालिते बाख्रापालन केन्द्र तथा एग्रिनेट हाउस अनुगमन गरेका छन् ।

मन्त्री लामाले हेटौँडा–१२ का वडाध्यक्ष ललित घलानद्वारा सञ्चालित अग्रेली कृषि फार्म अनुगमन गर्दै प्रदेश सरकारको उद्देश्यअनुसार कार्य सम्पादन गर्न निर्देशन दिएका थिए वडाध्यक्ष तथा फार्मका सञ्चालक घलानले बताए । ४० लाखको लगानीमा १३ कट्ठा जमीनमा टनेल निर्माण गरेर गोलभेँडा, भेडे खुर्सानी तथा अन्य बेमौसमी तरकारी खेती गरिएको उक्त फर्मबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखिएको छ । फार्मका लागि प्रदेश सरकारले २१ लाख ७५ हजार अनुदान दिएको उनको भनाइ थियो ।

मन्त्री लामाले बुधबार हेटौँडा–१२ मा रहेको सुन्दर बहुउद्देश्यीय कृषक समूहले सञ्चालन गरेको बाख्रापालन केन्द्र पनि अनुगमन गर्दै यसबाट वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताए । पदमपोखरी क्षेत्र बाख्रापालनका लागि अत्यन्त उपयुक्त भएकाले दत्तचित्त भएर काम गर्न उनले सुझाब दिए ।

केही दिनअघि बाट मात्रै सञ्चालनमा आएको बाख्रापालन केन्द्रमा ७५ माउ बाख्रा र तीन बोयर जातको बोका रहेको कृषक समूहका फेन्चु लामाले जानकारी दिए । प्रदेश सरकारको रू १६ लाख ४३ हजार अनुदान र १४ लाख १६ हजार उक्त समूहको लगानीमा १० जनाले सामूहिक बाख्रा पालन गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement