उड्डयन सुरक्षासम्वन्धी अध्ययन प्रतिवेदनका सुझाव नै कार्यान्वयन हुँदैनन्

Advertisement

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले ‘नेपालको उड्डयन सुरक्षा प्रतिवेदन, २०१९’ सार्वजनिक गरेको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बोलाएर प्राधिकरणले हवाई सुरक्षासम्वन्धी उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

हरेक बर्ष अध्ययन गर्दै सरकारलाई प्रतिवेदन बुझाउँदै आएको प्राधिकरणले यस बर्ष पनि आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको हो । प्रतिवेदनमा विगतका प्रतिवेदनको सुझाव कार्यान्वयन फितलो रहेको उल्लेख गरिएको छ । सन् २००९ देखि २०१८ सम्मको १० वर्षसम्मको प्रतिवदेनमा कुल १६८ वटा सुझावमध्ये १३६ वटा (८० प्रतिशत) मात्रै कार्यान्वयन भएको, बाँकी २० प्रतिशत मध्ये ६ प्रतिशत आंशिक कार्यान्वयनको चरणमा रहेको जनाइएको छ ।

नेपालको उड्डयन सुरक्षाको स्थिति विश्वको औषतभन्दा माथि रहेको उल्लेख भन्दै प्राधिकरणले प्रतिवेदनमा नेपालको उड्डयन सुरक्षा ६६.७ प्रतिशत रहेको देखाइएको, विश्वको औषत सुरक्षा दर ६५.५१ मात्रै रहेको जनाइएको छ ।

कार्यक्रममा मन्त्री योगेश भट्टराईले पाइलटहरुको अभाव हुन नदिन नेपालमै फ्लाइङ स्कुल खोल्ने बताए । उनले निजी क्षेत्रसँग मिलेर यस्तो स्कुल खोल्न सकिने बताउँदै भने, ‘नेपालमा उड्डयन क्षेत्रको विकास हुँदै गएको छ । त्यसकारण अब आवश्यक जनशक्ति पनि यहीँ उत्पादन गर्नुपर्छ । पाइलटमा बाहिरको निर्भरता हटाउनुपर्छ ।’ भट्टराईले यस्तो स्कुल खोल्नेबारे अध्ययन गर्न चाँडै समिति पनि बनाइने बताए ।

Advertisement

Advertisement

Advertisement