सरकारी अध्ययनले भन्छ- साना जहाज र हेलिकप्टर हवाई सुरक्षामा मुख्य चुनौति, विमानस्थलमा लुक्ला

Advertisement

काठमाडौँ । नेपालको हवाई उडान सुरक्षामा हेलिकप्टर र ५७ सय किलोग्राममुनिका साना जहाज ‘चुनौती’ देखिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको १० वर्षे प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ ले त्यसतर्फ संकेत गरेको छ ।

हेलिकप्टर दुर्घटनाले विश्वको ध्यान तानेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । युरोपियन युनियन (ईयू)ले पनि पछिल्लो समय हेलिकप्टर सुरक्षाप्रति प्रश्न गरिरहेको उनको भनाइ छ । प्रतिवेदनअनुसार १० वर्षमा हेलिकप्टर दुर्घटना र मृत्युदर बढेको छ ।

यस अवधिमा १० वटा हेलिकप्टर दुर्घटना भएका र त्यसमा पर्यटनमन्त्रीसहित ३० जनाको ज्यान गएको थियो । नेपालमा दुर्गम तथा पहाडी भेगका लागि चार एयरलाइन्स र १० वटा हेलिकप्टर कम्पनी छन् । दुर्गममा नियमित उडानको तुलनामा हेलिकप्टर चार्टर उडान बढिरहेको महानिर्देशक पोखरेलको भनाइ छ । ‘नेपालमा दर्ता भएका ५७ सय किलो हाराहारी तौल वा त्योभन्दा कम तौलका जहाज र हेलिकप्टरको दुर्घटना दर बढी छ,’ उनले भने । पछिल्लो पटक ईयूको चासो हेलिकप्टरतर्फ मोडिएको छ ।

हेलिकप्टरले नियमित उडान नगर्ने भएकाले यसमा उसको चासो आवश्यक नरहेको भन्दै त्यसमा आपत्ति जनाउँदै प्राधिकरणले पत्र लेखेको पोखरेलले बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले ५७ सय किलोग्रामभन्दा कम तौल भएका साना जहाजको रेकर्ड राख्ने नगरेको उनको भनाइ छ । ‘ईयूलाई हामीले यो कुरा भन्यौं,’ उनले भने, ‘त्यसैले हामी उसको ट्र्यापमा परिसक्यौं ।’ ईयूले सन् २०१० देखि २०१२ सम्म भएका ५ वटा साना जहाज दुर्घटनामा ८९ जनाको मृत्यु भएपछि नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको थियो ।

उसले पछिल्लो पटक नेपालको हवाई सुरक्षामा दुई विषय उठाउँदै आएको छ । एउटा, नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउँदै नियामक र सेवा प्रवाह गर्ने दुई निकाय बनाउनुपर्ने उसको भनाइ छ । हरेक वर्ष भइरहेका हेलिकप्टर दुर्घटनाको दर घटाउनुपर्नेमा पनि उसले जोड दिएको छ ।

आफू मन्त्री भएर आएलगत्तै ईयूले उठाएको ‘प्राधिकरणलाई दुई संस्थामा विभाजन गर्ने’ विषयमा निर्णय गरेको पर्यटनमन्त्री भट्टराईले बताए । हेलिकप्टर कम्पनीमा पाइलटहरूले संस्था फेरिरहने विषय पनि समस्याका रूपमा रहेको प्राधिकरणको भनाइ छ । अस्वस्थ प्रतिस्पर्धाले हवाई सुरक्षामा असर पुर्‍याइरहेको महानिर्देशकपोखरेलले बताए ।

‘अब दुर्घटना पछि होइन, अघि नै पाइलटको अनुमतिपत्र रिभोक गर्ने गरी एक्सनमा जान्छौं,’ उनले भने । नेपालमा भएका हवाई दुर्घटनाको ५९ वर्षको तथ्यांकअनुसार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल सर्वाधिक जोखिमयुक्त सूचीमा परेको छ ।

यस अवधिमा लुक्लामा ९ वटा हवाई दुर्घटना भएका छन्, जसमा २३ जनाको मृत्यु भएको छ । लुक्लापछि दुर्घटना भई अत्यधिक मानवीय क्षति भएका पहाडी विमानस्थलमा जोमसोम, जुम्ला, सिमिकोट र डोल्पा छन् । मुलुकभर ५१ वटा विमानस्थल छन् ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement