सहकारीबाट ऋण लिएर समयमा नतिर्नेहरुको उल्टै आन्दोलन गर्ने चेतावनी, गायक रामकृष्ण पनि सहभागी

Advertisement

काठमाडौं । सहकारीको ऋण लिएर समयमा नतिरेपछि धितो लिलाम भएका गायक रामकृष्ण ढकालसहित केही व्यक्तिले शुक्रबार पत्रकार सम्मेलन गरी उल्टै सम्वन्धित सहकारीविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पुल्चोकस्थित श्री लालीगुराँस सहकारीबाट ऋण लिएका ढकालसहित चार जना ऋणीले पत्रकार सम्मेलन गर्दै आफूहरुलाई संस्थाले ठगी गरेको आरोप लगाएका छन् । सम्वन्धित संस्थाले भने लामो समयसम्म ताकेता गर्दा पनि ऋण नतिर्ने ऋणीहरुबाट नियमसम्मत तरिकाले बक्यौता अशुलउपर गर्दा उनीहरु उल्टै संस्था र संस्थाका प्रमुख कार्यकारी अधिकृतविरुद्ध आरोप्रत्यारोप गर्दै हिँडेको बताउँदै आएको छ ।

आजको पत्रकार सम्मेलनमा गायक ढकाल, अभिभावक संघका अध्यक्षसमेत रहेका जग्गा व्यापारी केशव पुरी, रविन्द्र थापा, लेखनाथ पौडेल थिए । उनीहरुले आफूहरुलाई झुक्याएर गैरकानुनीरुपमा धितो लिलाम गर्ने, भेट्न नमान्ने, विवरण उपलब्ध गराउन नमान्ने गरेको जस्ता आरोप लगाए ।

लालीगुराँस देशकै ठूलोमध्येको एक सहकारीको रुपमा चिनिन्छ जसले राज्यलाई सहकारी क्षेत्रबाट हरेक बर्ष सबैभन्दा धेरै कर तिर्ने गरेको बताउँर्दै आउनुका साथै आफै जलविद्युत आयोजना निर्माण, अस्पताल र शैक्षिक संस्थाहरु सञ्चालन, देशकै ठूलो गाई फार्म सञ्चालन गर्दै आएको छ । यो संस्थाले डेरी उद्योग पनि खोल्ने तयारी गरेको छ ।

हजारौं जनताको लगानी तथा निक्षेप रहने यस्ता सहकारीहरुमा ऋण लिने र नतिर्ने समूह प्रवृत्ति मुलुकभर नै रहेको बेला लालीगुराँसमा पनि त्यो किसिमको समस्या देखिएको छ । यद्यपि ढकालसहितका व्यक्तिहरुले भने आफूहरु वास्तवमै लालीगुराँस सहकारीबाट पीडित भएको दावी गरे । यद्यपि उनीहरुले व्यवहारिक समस्याका कारण नियमितरुपमा किस्ता तिर्न नसकेको स्वीकार गर्दै तर घरजग्गा लिलाम गर्ने कुरामा लालीगुराँसले समयमा सुचना नदिएको दावी गरे । पत्रकार सम्मेलनमा ढकालले न्यू बज्राचार्य, निर्मल शर्मा, संदीप क्षेत्री जस्ता केही कलाकारलाई पनि बोलाएका थिए ।

यता लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत भण्डारीले भने गलत नियत भएका मानिसहरु बैंकमा जान नसक्ने भएपछि सहकारीमा सदस्यको रुपमा प्रवेश गर्ने र ऋण माग्ने, ऋण लिएपछि सहकारीको पैसा तिर्न पर्दैन, जति ठगे पनि हुन्छ भन्ने सोचबाट सहकारीमा आउने, ऋण तिर्न ताकेता गर्दा सम्पर्कमै नआई दुःख दिने प्रवृत्ति रहेको भन्दै पुरीलगायतका व्यक्तिले आफ्नो स्वार्थ पूर्ति नभएपछि गलत प्रचार गर्दै हिंडेको बताए ।

उनले कर्जा बैंकहरुलाई राष्ट्र बैंकले नै संरक्षण गर्ने र कर्जा सुचना प्रणाली भएकाले पैसा खाएर हिँडनेहरुको सहजै पहुँच हुन नसक्ने भए पनि सहकारीमा भने सजिलै पैसा खाएर हिँड्न सकिन्छ भन्ने खालका एकथरी मानिसहरु लागिपर्ने गरेको भन्दै लालीगुराँस सबल र विधिसम्मत चल्ने सहकारी भएकाले यस्ता गतिविधिबाट कुनै असर नपर्ने बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले पनि केही दिनघि सहकारीमा ऋण लिने र नतिरी संस्थालाई डुवाउने प्रवृत्ति मौलाएको भन्दै यसलाई नियन्त्रण गर्न चाँडै नै कर्जा सुचना प्रणाली लागू गर्ने बताएकी थिएन् । यस्तो प्रणालीले सहकारी संस्थाहरुको नियमन पनि सहयोग पुग्ने उनको भनाई थियो ।

Advertisement

Advertisement

Advertisement